इस्तानबुल, ७ पुस । टर्कीले बिहीबार अफगानिस्तानका सत्ताधारी तालिवान नेतालाई विश्वविद्यालय शिक्षामा महिलालाई प्रतिबन्ध लगाउने आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ ।
गत वर्ष दुई दशकलामो युद्धपछि सत्तामा फर्किएपछि नरम शासनको वाचा गरेको तालिबानले लगाएको प्रतिबन्धको विश्वव्यापी निन्दा भएको थियो ।
टर्कीका विदेशमन्त्री मेभलुत कावुसोग्लुले टेलिभिजनमा प्रसारण भएको पत्रकार सम्मेलनमा भन्नुभयो, “यो प्रतिबन्ध न त इस्लामिक हो न त मानवीय नै ।”
“हामी यसलाई सही मान्दैनौं । तालिबानले यो निर्णय उल्टाउनु ईश्वरप्रतिको सम्मान हुनेछ,” उनले भने ।
उनले तालिवान शासकप्रति आक्रोस व्यक्त गर्दै भने, “महिलाको शिक्षाले मानवतालाई के हानि पुर्याउँछ?”
देशभरका हजारौं छात्रा र युवतीहरूले आफ्नो शिक्षालाई निरन्तरता दिन चाहेको विश्वविद्यालयको प्रवेश परीक्षामा सामेल भएको तीन महिना नबित्दै तालिवानले उच्च शिक्षामा प्रतिबन्ध लगाएको हो ।
विश्वविद्यालयहरू हाल जाडो बिदामा छन् र मार्चमा खुल्ने छन् ।
देशभरका अधिकांश किशोरीहरूलाई माध्यमिक विद्यालय शिक्षामा प्रतिबन्ध लगाइएको छ र विश्वविद्यालयको भर्नामा कडा प्रतिबन्ध लगाइएको छ ।
संयुक्त राज्य अमेरिकाले यस निर्णयको कडा शब्दमा निन्दा गरेको छ भने बेलायतले यसलाई ‘प्रगतिलाई पछाडि धकेल्नगरी भएकोे गम्भीर त्रुटी’ बताएको छ । रासस