Logo

कोरियाबाट कोरली गाई



काठमाडौं, पुस ८ । दक्षिण कोरियाबाट नेपाल आउने जहाजमा प्रायः वैदेशिक रोजगारीमा गएका नेपाली युवा फर्किन्थे। तर शुक्रबारको दृश्य भने फरक थियो।

कोरियाबाट आएको कार्गो जहाजमा नेपाली युवा होइन, कोरली गाई थिए। नेपाली युवाले दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याइरहेका बेला सरकारले कोरली गाई पनि भित्र्याएको दृश्य निकै रोचक देखिन्थ्यो। कोरली गाईसँगै केही साँढे पनि थिए।

कोरियाबाट विमान चार्टर गरेर कार्गोमार्फत ३६ कोरली गाई र ६ वटा साँढे ल्याइएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ। हेफर इन्टरनेसनलको सहयोगमा नेपालले दक्षिण कोरियाबाट गाई ल्याएको उक्त मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए।

‘हेफरको सहयोगमा १०० वटा होल्स्टेन फ्रिजन जातका कोरली गाई र २० वटा प्रजनन साँढे ल्याउने योजना छ,’ प्रवक्ता सञ्जेलले भने, ‘पहिलो चरणमा ३६ गाई र ६ वटा साँढे ल्याइपु¥याएका छौं। दक्षिण कोरिया सरकारबाट हेफर इन्टरनेसनलमार्फत नेपाल सरकारलाई प्राविधिक सहायताका रूपमा उपलब्ध गराइएका अन्य गाई र साँढे क्रमशः ल्याउने मन्त्रालयले जनाएको छ।

नेपालका गाई–भैंसीको दूध उत्पादन क्षमता कम भएकाले उच्च परिमाणमा दूध दिने वंशाणुगत गुण भएका गाई र प्रजनन क्षमता राम्रो भएका साँढे ल्याइएको मन्त्रालयले जनाएको छ।

अहिले नेपालमा रहेका उन्नत जातका गाईले प्रतिबेत ३ हजारदेखि ३५ सय लिटर दूध दिन्छन्। कोरियाबाट ल्याएको कोरली गाईले भने प्रतिबेत १० हजार लिटर दूध दिने क्षमता राख्ने मन्त्रालयको भनाइ छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्