Logo

सरकार गठनको केन्द्रमा माओवादी



काठमाडौं, पुस ८ । नयाँ सरकार गठनका लागि गृहकार्य भइरहँदा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटार शक्ति केन्द्रका रूपमा देखिएको छ। एक सातादेखि विभिन्न दलका नेताहरूले दाहालसँगको भेटघाटलाई तीव्रता दिएसँगै खुमलटार शक्ति केन्द्रका रूपमा स्थापित भएको हो।

निर्वाचन परिणाम आएपछि नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर छलफल गरिरहेका माओवादी अध्यक्ष दाहालले सत्ता गठबन्धनभित्र र बाहिरका पार्टीका नेताहरूसँग पनि भेटघाट गरिरहेका छन्। एमाले उपाध्यक्षद्वय सुवास नेम्वाङ र विष्णु पौडेल, सचिव रघुवीर महासेठलगायतका नेताहरूले पनि दाहाललाई भेटिसकेका छन्।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, कांग्रेस उपाध्यक्ष पूर्णबहादुर खड्का, नेता अर्जुननरसिंह केसी, गृहमन्त्री बालकृष्ण खाण, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायतका नेताहरूले पनि दाहाललाई भेट्दै आएका छन्। नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई र अर्का अध्यक्ष महेन्द्र राय यादवले पनि दाहालसँग भेटघाट गरेका छन्।

वर्तमान सत्ता गठबन्धनमा आबद्ध दलहरूले माओवादीलाई सरकार बनाउने केन्द्रका रूपमा हेरेका छन्। प्रतिनिधिसभामा ३२ सिट जितेको माओवादी सरकार बनाउनका लागि आवश्यक ‘चुकुल’का रूपमा देखिएको छ। जसले गर्दा कांग्रेस र एमाले दुवैले माओवादीलाई आ–आफ्नो पक्षमा पार्ने प्रयास गरेका छन्।

वर्तमान सत्ता गठबन्धनको नेतृत्व गरेको कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने भने पनि माओवादीसँग ऊ निरन्तर संवादमा छ। त्यसो त डेढ वर्षअघि कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले पहल गरेको भन्दै माओवादी केन्द्रले निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पार्टी अध्यक्ष दाहालले पाउनुपर्ने दाबी गर्दै आएको छ। दाहालले कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवासँग पनि यो कुरा राखिसकेका छन्।

नयाँ सरकार गठनका विषयमा देउवा र दाहालबीच बुधबार साँझ र बिहीबार पनि छलफल भएको छ। छलफलमा देउवा र दाहाल दुवैले सरकारको नेतृत्व दाबी गरे पनि प्याकेजमै छलफल गर्ने कुरामा सहमति भएको स्रोतको दाबी छ। दाहालले बिहीबार आफ्नो पार्टीका नेताहरूलाई निरन्तरका वार्ता प्रक्रियाको ब्रिफिङ गरेका छन्। सत्ता गठबन्धनबाहिरका दलका नेताहरूसँग पनि छलफल चलाएका दाहालले कांग्रेससँगको सम्बन्धका आधारमा मात्रै आवश्यक परे नयाँ विकल्पमा जाने संकेत दिएका छन्।

स्रोतका अनुसार मंगलबार साँझ दाहालले एमाले उपाध्यक्ष नेम्वाङलाई ‘कांग्रेससँग सहकार्यको ढोका बन्द भएको अवस्थामा मात्रै माओवादीले एमालेसँग कुराकानी अघि बढाउने’ बताएका थिए। एमाले सचिव महासेठसँगको भेटमा पनि दाहालले सोही कुरा बताएको स्रोतको दाबी छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot