Logo

प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा शेरबहादुर देउवा भए जोडा मिल्छः माओवादी नेता



काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता रामनारायण बिडारीले अहिलेको स्थितिमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नै प्रधानमन्त्रीका निम्ति उपयुक्त पात्र भएको बताएका छन् ।
‘पावर सेयरिङ ठ्याक्कै यसै गरी गर्ने भन्ने सूत्र त छैन । तर पुस १० भित्र गठबन्धनकै सरकार बन्छ । पहिलो चरणमा को प्रधानमन्त्री बन्ने भन्ने टुंगो नलागेको स्थितिमा जनतालाई नयाँ सन्देश दिनका निम्ति प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्ने हाम्रो प्रस्ताव छ । बाँकी पद राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष तीन दलका बीचमा छलफल गरेर बनाउँदा हुन्छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बिडारीले भने ।
उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रपति बनाउनुपर्ने पनि औंल्याए । बिडारीले भने, ‘अहिले मुलुकलाई चाहिएको राष्ट्रपति शेरबहादुरजी नै हो । त्यसका लागि उहाँ सबैभन्दा उपयुक्त हुनुहुन्छ । देशलाई ट्रयाकमा लैजाने उपयुक्त उम्मेदवार उहाँ नै हो । उमेरका हिसाबले पाको, सक्षम र विश्वसनीय उहाँ नै हुनुहुन्छ । शेरबहादुर उहाँ डिप्लोम्याट नेता हो । सबैलाई मिलाएर लैजाने नेता हो । उहाँले छलफलपछि प्रधानमन्त्रीमा दाबी छाड्नुहुन्छ । प्रधानमन्त्रीका लागि सक्रिय र नेतृत्व क्षमता भएका नेता प्रचण्ड हुँदै हुनुहुन्छ । प्रधानमन्त्रीमा प्रचण्ड र राष्ट्रपतिमा शेरबहादुरजीको जोडा मिलाउनुपर्छ भन्ने मेरो व्यक्तिगत धारणा हो ।’
कांग्रेसले दोस्रो चरणमा प्रधानमन्त्री लिनु उचित हुने पनि बिडारीको तर्क छ । उनले भने, ‘कांग्रेसबाट कसलाई प्रधानमन्त्री बनाउने भन्ने कुरा कांग्रेसले नै तय गर्ला । रामचन्द्र पौडेल, गगन थापा वा कुनै महिला प्रधानमन्त्री भए पनि हुन्छ ।’ कांग्रेसमा प्रधानमन्त्री हुन योग्य महिला डा. आरजु देउवा हो भन्ने धमलाको प्रश्नमा बिडारीले भने, संविधानले समानुपातिकलाई पनि प्रधानमन्त्री बन्ने हैसियत दिएको छ । तर डा. आरजु देउवालाई नै प्रधानमन्त्री बनाउने मेरो प्रस्ताव होइन । दोस्रो चरणमा प्रधानमन्त्री बनाउनका लागि कांग्रेसमा धेरै विकल्प छन् । तर पहिलो चरणमा सरकारको नेतृत्व माओवादीलाई दिँदा राम्रो हुन्छ ।’ उनले गठबन्धन तोडेपछि सरकारको नेतृत्वमा छलफल गर्ने एमालेको प्रस्ताव रणनीतिक भएको पनि बताए ।
माओवादी नेता बिडारीले गठबन्धन पाँच वर्ष कायम रहने दाबी पनि गरे । ‘अहिले गठबन्धन भत्काउनुपर्ने कुनै कारण छैन । पुरानो प्रतिबद्धतामा अन्यथा हुने स्थिति पनि छैन । चुनाव अघि त गठबन्धन गरेर लडियो भने अब सरकार चलाउन त झन् गठबन्धन अनिवार्य छ । गठबन्धन कसरी गर्ने भन्ने कुरा मात्र हो । यसमा अर्को विकल्प सोच्नु उपयुक्त हुँदैन,’ उनले भने ।

 



प्रतिक्रिया दिनुहोस्