काठमाडौं, ८ पुष । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका प्रभावशाली युवा नेता केशव झाले आम जनताले खोजेको परिवर्तन अहिलेको शासकीय स्वरुपबाट सम्भव नभएको टिप्पणी गरेका छन् । आज (शुक्रबार) सुर्खेतको वीरेन्द्रनगरमा आयोजित नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभामा पार्टीको मन्तव्य राख्ने क्रममा झाले यस्तो टिप्पणी गरेका हुन् ।
उनले सम्बोधनको क्रममा भनेका थिए,‘आम जनताले खोजेको परिवर्तन अहिलेको शासकीय स्वरुपबाट सम्भव छैन । सबै मिलेर एउटा विकल्प खोजौं ।’ झाले अहिलेको चुनाव अत्यन्तै महँगो भएको पनि औंल्याए । उनले निर्वाचन प्रणाली परिवर्तन नगरेसम्म भ्रष्टाचार नियन्त्रण गर्न नसकिने पनि बताए । उनले भने,‘त्यसैले अब २१औं शताब्दीको गतिमा हिँड्न र लोकतन्त्रको कार्यभारको पुर्णताको निम्ति तथा समुल परिवर्तनको निम्ति सवै मिलि एउटा राष्ट्रिय संघर्षको आवश्यकता छ, अहिलेको हाउसले समाधान गर्न सक्दैन् ।’
सो क्रममा उनले पत्रकारहरुको पारिश्रमिक र उनीहरुले पाउने न्यूनतम सुविधाको पक्षमा वकालत गरेका थिए । उनले उत्पीडित जातजाति र समुदायको हकहितको निम्ति अझै आवाज उठाइदिन मिडियाकर्मीहरुसँग आग्रह गरे ।
फरक प्रसँगमा उनले अहिलेको सत्ता गठबन्धन टुट्न नहुने धारणा पनि राखे । उनले भने,‘यही गठबन्धन कायम होस, आफ्नो व्यक्तिगत महत्वाकांक्षालाई त्यागेर शीर्ष नेताहरुले यही गठबन्धनबाट स्थिर सरकार बनाउनुपर्छ । मुलुकलाई अब राजनीतिक स्थायित्व प्रदान गर्नुपर्छ । र, समृद्धितर्फ अघि बढाउनुपर्छ ।’
सो क्रममा उनले मुलुक आर्थिक रुपमा संकटतर्फ गैरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । सबै दल मिलेर मुलुकलाई आर्थिक संकटबाट पार लगाउनुपर्नेमा उनको जोड थियो ।