काठमाडौं, पुस ९ । नेपालमा हालसम्ममा पाँच हजार ६ सय ४४ ओटा उद्योगलाई विदेशी लगानी स्वीकृत गरिएको छ । जसमध्ये गत मंसिर महिनामा मात्र १६ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिइएको उद्योग विभागले जनाएको छ । विभागले गत कात्तिकमा पनि २४ ओटा उद्योगलाई विदेशी लगानीका लागि स्वीकृति दिएको थियो ।
मंसिरमा स्वीकृति दिएका १६ ओटै उद्योग साना उद्योग हुन् भने कात्तिकमा एउटा ठूलो उद्योगलाई, ४ ओटा मझौला उद्योगलाई र १९ ओटा साना उद्योगलाई स्वीकृति दिइएको हो ।
मंसिरमा स्वीकृति दिइएकामध्यै २ ओटा उत्पादनमुलक, ८ ओटा पर्यटनमुलक र ६ ओटा सेवामुलक रहेका छन् । यसैंगरी कात्तिकमा स्वीकृति दिइएका विदेशी लगानीहरुमका १२ ओटा पर्यटनमुलक, सेवामुलक १० ओटा, पूर्वाधार र सूचनाप्रविधि १÷१ ओटा रहेका छन् ।
मंसिर महिनामा स्वीकृति पाएका १६ ओटा उद्योगहरुबाट ८४ करोड ९० लाख पुँजी लगानी गर्ने उद्योग विभागले जनाएको छ । यो लगानीबाट ६ सय ९४ जनाले रोजगारी पाउनेछन् । १६ ओटा उद्योगलाई लगानी स्वीकृत गर्दा २३६ जना लगानीकर्ताले विजनेस भिसा पाएका छन् । यसैंगरी १९ जना प्रतिनिधिले भिसा पाएका छन् । उनीहरुसँगै ४० जनाले आश्रितका रुपमा विजेनस भिसा पाउने भएका छन् ।
गत कात्तिक महिनामा भने २४ ओटा उद्योगले विदेशी लगानी स्वीकृत पाउँदा ३ अर्ब ६५ करोड कुल विदेशी लगानी भित्रिने छ ।
उद्योग विभागका अनुसार हालसम्ममा ३ सय २३ ओटा ठूला उद्योगले विदेशी लगानी स्वीकृति पाएका छन् भने ६ सय २२ ओटा मझौला उद्योगले स्वीकृति पाएका छन् । त्यसैंगरी ४ हजार ६ सय ९९ ओटाले साना उद्योगका लागि स्वीकृति पाएका छन् ।
यिनीहरुमध्ये सवैभन्दा वढी सेवामुलक उद्योग रहेका छन् । विभागको तथ्यांकअनुसार यस्तो स्वीकृति पाउने उद्योगको संख्या १ हजार ८ सय ७३ ओटा छन् । यसैंगरी १ हजार ८ सय ६३ ओटा पर्यटनमुलक उद्योगले हालसम्ममा स्वीकृति पाएका छन् । उत्पादनमुलक भने १ हजार २ सय ७१ ओटा छन् । राजधानी दैनिकबाट