Logo

दलितलाई वर्षौदेखि फोहोर पानी



बझाङ, पुस ९ । नेपालको संविधान २०७२ अनुसार प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको अधिकार हुने कुरा उल्लेख छ । तर, मष्टा गाउँपालिका–१ जिन्नाडाका दलित समुदायका नागरिकले वर्षौंदेखि फोहोर पानी पिउँदै आउनुपरेको छ ।

उनीहरूले जिम्मेवार निकायलाई खानेपानीको समस्या देखाउँदै आएको वर्षौं बित्यो । तर, अहिलेसम्म सुनुवाइ हुन सकेको भने छैन ।

भट्टीदेवी आउजीलाई आफ्नो यकिन उमेर पनि थाहा छैन । बिहानै घरको काम, दिउँसो गाई वस्तुका लागि घाँस, पात अर्थात् मेलपात र चुलो चौकोमै बित्छ उनको दैनिकी । उनलाई आधा उमेर ढल्किनसम्म अरू कुनै समस्याले सताएन । मात्रै स्वच्छ खानेपानीको चिन्ताले सताइरह्यो । यो समस्या आउजीको मात्रै नभई उनका छिमेकी तथा दलित समुदायका १४ परिवार सबैको हो ।

जिन्नाडाका दलित समुदायको मुख्य समस्या खानेपानी रहेको छ । त्योसँगै बाटोघाटो, शौचालय, बिजुलीको समस्या त छँदै छ । तर, स्वच्छ पानी त त्यो समुदायमा कुनै पुस्ताले पनि खान पाएका छैनन् । जमिन हेर्ने हो भने घर भएको ठाउँभन्दा बढी जमिन छैन ।

हिड्नलाई अरूको खेतको डाली हुँदै जानुपर्छ । पानी पिउनलाई किरा फट्याङ्ग्राले पौडी खेलिरहने र पशु चौपायाले खाएको कुवाको पानी खानुपर्छ ।

गैरदलित समुदायमा एउटा धारा छ । उक्त धारामा छुन समेत पाइँदैन । बरु गैरदलित समुदायको धाराबाट निस्केको फोहोर पानी उनीहरूले प्रयोग गर्नुपर्ने बाध्यता छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्