Logo

गठबन्धनलाई बाईबाई नगरी प्रचण्डलाई प्रधानमन्त्री दिन सकिँदैनः सूर्य थापा



काठमाडौं, ९ पुस । नेकपा एमालेका नेता एवं सांसद सूर्य थापाले आफ्नो पार्टीबाट नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई प्रधानमन्त्री प्रस्ताव नगरिएको बताएका छन् । एमालेले प्रचण्डलाई प्रधानमन्त्री प्रस्ताव गरेको भनी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बार्गेनिङ चिप्सका रुपमा प्रयोग गरिएको थापाको आरोप छ ।
एमाले प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भएको छ, सहमति कहिले होला भन्ने पत्रकार ऋषि धमलाको प्रश्नमा थापाले भने, ‘प्रचण्ड कि कसलाई प्रधानमन्त्री भनेर हामीले छलफल गरेका छैनौं । शेरबहादुर देउवाको गठबन्धनबाट बाहिर आएपछि बल्ल त्यसमा छलफल हुने कुरा हो । २४ महिना पुरानो पाँच दलीय गठबन्धन यथावत् राखेर उहाँलाई प्रधानमन्त्री बनाउने विषय अगाडि बढ्न सक्दैन । हाम्रो पहिलो प्राथमिकता गठबन्धनलाई बाईबाई गर्ने हो ।’
एमालेको प्राथमिकता देउवा र प्रचण्ड होइन कि आफ्नै नेतृत्वमा सरकार बनाउने भएको पनि थापाले बताए । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’ मा कुरानी गर्दै उनले भने, ‘कसैको निजी विचारका बारेमा म बोल्दिनँ । पार्टीभित्र अनेक विकल्पका बारेमा छलफल भइरहेका छन् । हाम्रा अध्यक्ष केपी शर्मा ओलीलाई सचिवालयले कुनै पनि निर्णयमा पुग्न सबै जिम्मा दिएको छ ।’
आफू नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउनुपर्छ भन्नेमा रहेको पनि उनले बताए । थापाले थपे, ‘अहिले हामी नर्थ कि साउथ भन्ने अवस्थामा छैनौं । तर हाम्रो नेतृत्वले विवेकपूर्ण निर्णय गर्न सक्छ । प्रचण्डसँग सहकार्यका निम्ति माओवादी केन्द्र कसरी अगाडि बढ्छ, हाम्रो सम्बन्धमा कसरी आउँछ ? पहिलेका दुश्मनीपूर्ण हमलालाई कसरी लिनुहुन्छ ? प्रचण्डले शेरबहादुरसँग बार्गेनिङ मात्र गर्न खोजिरहनुभएको हो कि होइन ? त्यो पनि स्पष्ट छैन ।’
एमाले नेता थापाले शेरबहादुर देउवा गठबन्धनमा बहुमत प्राप्त सरकारले लिनेभन्दा बढी लिने कोसिस गरिरहेको आरोप पनि लगाए । उनले भने, ‘प्रधानमन्त्री आफू खाने, राष्ट्रपति र सभामुख पनि लिने देउवाको रणनीति छ । आजको आर्थिक संकट, संवैधानिक संकटबारे केही मतलब छैन । उहाँलाई चितवनको गैंडाजस्तै काउकुती लागेको छैन । प्रचण्डलाई दुई वर्षपछि प्रधानमन्त्री पाउने उधारो सहमतिमा धोका हुन्छ भन्ने लागिरहेको छ ।’ कसले कसलाई छक्याउने र बढी लिने भन्ने अन्तर्द्वन्द्वमा गठबन्धन फसेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्