Logo

कांग्रेस नेतालाई धमलाको प्रश्न- पाँच दलीय गठबन्धन विघटनको संघारमा पुगेको हो ?



काठमाडौं, १० पुस । नेपाली कांग्रेसका नेता एवं सांसद एनपी सावदले पाँच दलीय गठबन्धनलाई स्वाभाविक दिशामा लैजान आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् ।
‘पाँच दलीय गठबन्धनलाई जनताले बहुमत दिएका छन् । अब गठबन्धनलाई स्वाभाविक दिशामा लैजानुपर्छ । निर्वाचनमा मुखरित जनादेश अनुसार पहिलो पार्टी कांग्रेसकै नेतृत्वमा सरकार बनाउनुपर्छ भन्ने कुरालाई अन्यथा लिन मिल्छ र ? जसको नेतृत्वमा निर्वाचन सम्पन्न भएको छ, त्यसकै नेतृत्वमा सरकार बन्नु स्वाभाविक होइन र ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै सावदले भने ।
सबभन्दा ठूलो दलको नेतृत्वमा सरकार बनाउँदा नै जनअभिमतको सम्मान हुनेमा उनले जोड दिए । सावदले भने, ‘कतिपयले चुनावअघि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति भएको थियो पनि भन्न थालेका छन् । मलाई लाग्छ, त्यस्तो सहमति भएको थिएन । प्रचण्डले पहिले मलाई नै प्रधानमन्त्री दिनुस् भन्दा शेरबहादुर देउवाले साथीहरुसँग सल्लाह गर्छौं भन्नुभएको हो । त्यसलाई नै सहमति भन्न मिल्दैन । गठबन्धनको सहयोग नलिईकन सरकार नबन्ने अवस्थामा सबै दलले मलाई नै पहिले दिनुपर्छ भने गठबन्धनको स्थिति के हुन्छ ?’
पाँच दलीय गठबन्धन विघटनको संघारमा पुगेको हो भन्ने प्रश्नमा सावदले नकारात्मक परिणाम आउँछ भन्ने आशंका नगरेको बताए । उनले थपे, ‘वार्ता, संवाद हुँदै छ । नेताहरु अनुभवी हुनुहुन्छ । धेरै भोटो फटाउनुभएको छ । नकारात्मक परिणाम आउँछ भनेर आशंका नगरिहालौं । हामीले प्रचण्डले त्याग गर्नुपर्छ भनेको होइन, आलोपालो गर्ने भनेका हौं ।’

गठबन्धनमा सानाठूला सबै दलको अस्तित्व स्वीकारेर जान कांग्रेस तयार रहेको पनि नेता सावदले बताए । उनले भने, ‘अहिले कुनै दलले सरकारलाई समर्थन गर्दिनँ भन्दासाथ संकट आउँछ । हामीले यो महत्त्वलाई परस्पर मिलेर मात्र स्थापित गर्न सक्छौं । त्यसैले विभिन्न ठाउँमा साझेदारी र सहकार्य गर्छौं । आलोपालो सिद्धान्त अनुसार चल्छौं । सहमतिमै टुंगोमा पुग्छौं ।’
संविधानको धारा ७६(२) अनुसार सत्ता गठबन्धनको सरकार गठन बन्नेमा उनी आशावादी भएको उनले बताए । सावदले भने, ‘त्यस अनुसार भएन भने ७६(३) मा जाने हो । तर हामी ७६(२) मै सरकार बनाउँछौं । आज टुंगिएन भने राष्ट्रपतिलाई समय थप्न अनुरोध गर्न पनि सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्