Logo

एमाले नेताको व्यंग्य– प्रचण्डले केपी ओलीसँगको फोटो देखाएर बार्गेनिङ गर्दा कांग्रेस लुरुक्क पर्ने ?



काठमाडौं, १० पुस । नेकपा एमालेका नेता विशाल भट्टराईले मुलुक मध्यावधि निर्वाचनतिर अग्रसर भएको बताएका छन् ।
‘पाँच दल मिलेर जाँदा पनि बहुमत प्राप्त हुन नसक्नु दुर्भाग्य भैदियो । निर्वाचनमा कुनै पनि दलको बहुमत नआएको मात्र होइन, कुनै पनि सरकार दिगो र लामो समय नचल्ने देखियो मूलतः सहरिया मतदाता विकास र स्थायित्वको पक्षमा भन्दा लहडको पक्षमा उभिँदा सुरुमै अस्थिरता देखा पर्यो । त्यसकारण जुनसुकै बेला मुलुक ताजा जनादेशमा जान सक्छ भनेर हाम्रा अध्यक्ष केपी शर्मा ओलीले बताइसक्नुभएको छ । गठबन्धनले दुई वर्ष सरकार चलाए पनि अन्ततः जाने मध्यावधिमै हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले भने ।
प्रचण्डले केपी शर्मा ओलीको फोटो देखाएर कांग्रेससँग प्रधानमन्त्री पदको बार्गेनिङ गरिरहेको आरोप पनि उनले लगाए । भट्टराईले थपे, ‘सधैंभरि अस्थिरतामा रमाउने र जम्मा १८ सिट जितेको शक्तिले कांग्रेसलाई अलमलाइरहेको छ । कांग्रेस किंकर्तव्यविमूढ भएको छ । कांग्रेसको मूल नेतृत्वमा आत्मविश्वासको कमी छ । प्रचण्डले केपी ओलीसँगको फोटो देखाएर प्रधानमन्त्रीको बार्गेनिङ गर्दा कांग्रेस लुरुक्क पर्ने ?’
संविधानको धारा ७६(२) अनुसार सरकार बनेन भने ७६(३) अनुसार ठूलो दलको हैसियतले कांग्रेसले बनाउने सरकारलाई समर्थन गर्न एमाले तयार रहेको पनि भट्टराईले बताए । उनले भने, ‘गठबन्धनको सरकार नबने पनि कांग्रेसले सरकार बनाउने अवसर पाउँछ । एक महिनाभित्र एमालेले नै विश्वासको मत दिन सक्छ । हामीले कुनै पनि पदमा बार्गेनिङ गरेका छैनौं । दुई वर्ष आफैं चलाए भइहाल्यो । जनताको चाहना पनि एमाले र कांग्रेस मिलेर चलाए स्थायित्व हुन्थ्यो भन्ने छ ।’
प्रचण्ड एमालेको समर्थनमा प्रधानमन्त्री बन्न ढिला भएको पनि उनले औंल्याए । भट्टराईले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बन्नु थियो भने बेलैमा अगाडि आउनुपथ्र्यो । गठबन्धन तोडेर आजै आउनुभयो भने पनि छलफल गर्न सकिन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot