काठमाडौं, पुस १० । प्रधानमन्त्री निवास बालुवाटारमा पाँच दलको बैठक सुरु भएको छ । बैठकमा सरकारको नेतृत्व र सत्ताका मुख्य जिम्मेवार पदहरूको भागबण्डा र शक्ति बाँडफाँडका विषयमा कुराकानी भईरहेको छ। गठबन्धनभित्र सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा विवाद रहेको छ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच सरकारको नेतृत्वका विषयमा कुरा मिल्न बाँकी छ। साथै गठबन्धनभित्रको भागबन्डाका विषयमा पनि छलफल हुने बताइएको छ।
शनिबार साँझ बसेको बैठकले आज पुनः बैठक बस्ने निर्णय गरेको थियो। बैठकअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डबीच एक्लाएक्लै भेटवार्ता भएको थियो।
नयाँ सरकार गठनको तयारी अनुसार गठबन्धन बैठक अघि आन्तरिक छलफलमा जुटेका कांग्रेसका नवनिर्वाचित सांसदहरुले सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी अब बन्ने सरकारको नेतृत्व कांग्रेसले नै लिनुपर्नेमा कांग्रेस सांसदहरुले जोड दिएका हुन् ।प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।