Logo

कम्युनिस्टहरू मिलाइदिएकोमा शेरबहादुर देउवालाई माओवादी नेताले दिए, धन्यवाद र बधाई



काठमाडौं, ११ पुस । नेकपा (माओवादी केन्द्र) का नेता दीनानाथ शर्माले आफ्ना पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नेपाली कांग्रेसलाई धोका नदिएको दाबी गरेका छन् ।
‘गठबन्धनमा सबभन्दा जिम्मेवार पार्टी कांग्रेस थियो । उसले नै गठबन्धनको मर्म र आवश्यकतालाई गम्भीरतापूर्वक लिएन । माओवादीको भोट पाएर ठूलो पार्टी भयो । तर पार्टी ठूलो भएपछि दम्भ बढ्यो र माओवादीलाई केही पनि दिनुहुँदैन भन्यो । प्रचण्ड त सधैं अरुलाई बनाउन हिँड्ने मान्छे हो । गठबन्धन टुटोस् भन्ने थिएन । इमानदार प्रयास गर्नुभएको थियो, तर सम्भव भएन । अहिले प्रचण्डले अन्यथा गर्‍यो भन्ने अवस्था छैन । यसबारे कांग्रेसका रामचन्द्र पौडेलले सबै कुरा भन्नुभएकै छ,ए नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माले भने ।
सरकारविहीनताका कारण मध्यावधिमा जाने भन्ने कुरा आएपछि देशलाई बलियो र राम्रो सरकार दिएर स्थायित्व दिनुपर्ने अवस्थामा प्रचण्ड अघि सरेको पनि शर्माको स्पष्टोक्ति छ । उनले थपे, ‘शेरबहादुर देउवाले फेरि एकपटक कम्युनिस्ट मिलाउने काम गरिदिनुभयो । उहाँले जस पाउने काम नै गर्नुभएको छ । धेरै राम्रो गर्नुभयो । देउवालाई बधाई र धन्यवाद नै भन्नुपर्छ ।’ नेता शर्माले नेकपा (एकीकृत समाजवादी) लाई आफ्नो पार्टीले नअलग्याएको र पछि सरकारमा गठबन्धनमै आउने दाबी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot