Logo

राष्ट्रपति र सभामुख लिएर प्रचण्डलाई प्रधानमन्त्री दिएको भए हामी उत्तानो पर्ने थिएनौंः कांग्रेस सांसद



काठमाडौं, ११ पुस । नेपाली कांग्रेसका नेता एवं सांसद रामहरि खतिवडाले गठबन्धनलाई निरन्तरता दिने प्रयास नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका कारण सम्भव नभएको बताएका छन् ।
‘प्रचण्डजी पदको राजनीति गर्ने नेता नै हो । पदका लागि जतिखेर पनि जोसँग पनि जानुहुन्छ भन्ने थाहा भएकै कुरा हो । उहाँ कम्युनिस्ट छाडेर कांग्रेससँग आउनुभएको थियो । हामी विश्वस्त थियौं । २०७४ मा एमालेले पहिलो पार्टी भएर प्रधानमन्त्री र राष्ट्रपति लिएको नजिर अनुसार हामीले उहाँलाई दोस्रो चरणमा प्रधानमन्त्री बनाउने प्रस्ताव राख्यौं । तर एमालेको आश्वासन पाएपछि उहाँ हाताहाती छाडेर उधारोमा बस्नुभएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै खतिवडाले भने ।
जनताले पहिलो पार्टी बनाउँदा पनि कांग्रेस सत्तावञ्चित हुनुपर्ने अवस्था दुःखद रहेको पनि खतिवडाले औंल्याए । ‘कांग्रेसले राष्ट्रपति र सभामुख लिएर अर्को चरणमा प्रधानमन्त्री भएको भए हुन्थ्यो । गठबन्धन पनि बच्थ्यो । हामी पनि उत्ताने पर्नुपर्ने थिएन । राजनीतिमा लोभपाप हुँदो रहेछ । हामी पहिलो पार्टी हुँदा पनि सत्तावञ्चित हुनुपर्‍यो । यो दुःखद छ,’ उनले भने ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले बेलैमा एउटा टिम बनाएर पदीय भागबन्डाका लागि काम गर्न नसकेको पनि बताए । उनले भने, ‘सत्ता राजनीतिमा कोही शत्रु र कोही मित्रु हुँदो रहेनछ । तर हाम्रा नेताहरुलाई तत्कालै यो अवस्था सिर्जना भैहाल्ला जस्तो लागेन । सभापतिजीले यसबारे बेलैमा होमवर्क गरेको भए हुन्थ्यो । टिम बनाएर काम गरेको भए हुन्थ्यो । मुख्य कुरा पद्धति बचाउन सक्यौं भने कांग्रेस फेरि पनि सत्तामा जान सक्छ । पुरानालाई सम्मान गर्दै नयाँलाई अगाडि ल्याएर संगठन दह्रो बनाउन सक्दा कांग्रेसको भविष्य छ ।’ उनले मुलुकलाई आफ्नो र अर्को, नाता र दाता, मेरो र तेरोमा सीमित नरही काम गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई शुभकामना पनि दिए ।



प्रतिक्रिया दिनुहोस्