Logo

प्रचण्डलाई अब गल्ती गर्ने छुट छैन : वामदेव गौतम (भिडिओसहित)



काठमाडौं, ११ पुस । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अब प्रचण्डलाई गल्ती गर्ने छुट नभएको बताएका छन् । उनले भने, ‘गैर कम्युनिस्टलाई बाहेक गरेर यो सरकार सफल हुन्न । प्रचण्डले कम्युनिस्ट मात्र हुँ भन्ने दिमागमा राख्नुभयो भने सफल भइन्न । उहाँलाई अब गल्ती गर्ने छुट छैन ।’

गौतमले  गठबन्धन टुट्नुमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै जिम्मेवार भएको बताएका छन् । ‘नेपाली कांग्रेस कम्युनिस्टप्रति कहिल्यै इमानदार भएन । कम्युनिस्टले कांग्रेसलाई भोट हालेका छन् तर कांग्रेसले कम्युनिस्टलाई भोट हालेनन् । गठबन्धन टुट्नमा शेरबहादुर देउवा नै जिम्मेवार छन् । प्रचण्ड त जस्तोसुकै परिस्थितिमा तुरुन्तै निर्णय गर्ने नेता हो । उहाँ राजनीतिक व्यक्ति हो, महत्त्वाकांक्षी व्यक्ति पनि हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गौतमले भने ।

प्रधानमन्त्रीमा पुष्पकमल दाहाल (प्रचण्ड) लाई समर्थन गर्नु केपी शर्मा ओलीको बाध्यता भएको पनि उनले बताए । गौतमले थपे, ‘मिलेकाहरु छुट्टिन्छन्, छुट्टिएकाहरु मिल्छन् । यो सार्वभौम नियम हो । यो निरन्तरको प्रक्रिया हो । ओलीको मुख छुच्चो छ, प्याच्च प्याच्च भन्नुहुन्छ । उहाँले प्रचण्डलाई भन्दा पनि माधव नेपाललाई भन्न नहुने वचन लगाउनुभयो । उहाँको मुखबाट पटकपटक अरुलाई अपमान गर्ने काम भएका छन् । अहिले ओलीले प्रचण्डलाई गुन तिरेको भन्दा पनि बाध्यता हो । यो गठबन्धन नभएको भए देश मध्यावधिमा जाने थियो र देश धराशायी हुने थियो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot