Logo

खाद्यान्न आयात उनन्चालीस प्रतिशतले घट्यो



काठमाडौं, पुस १२ । अघिल्लो आर्थिक वर्षको पाँच महिनामा (साउन–मङ्सिर)को तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा खाद्यान्न आयात ३९ प्रतिशतले घटेको छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा २० अर्ब ३१ करोड १७ लाख सात हजार रुपैयाँ बराबरको खाद्यान्न (धान, मकै, गहुँ, चामल, जौ, कोदो) आयात भएको हो ।

गत वर्ष सो अवधिमा ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न आयात भएको थियो । भारतले धान र गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण आयात कमी आएको हो । सो अवधिमा सबैभन्दा धेरै चामल आयात भएको छ । नेपालमै उत्पादन गर्न सक्ने पर्याप्त सम्भावना भए पनि स्थानीय उत्पादनले माग धान्न नसक्दा ठूलो परिणाममा खाद्यान्न आयात हुने गरेको हो ।

विभागका अनुसार पाँच महिनाको अवधिमा सात अर्ब २९ करोड ४० लाख छ हजार रुपैयाँ बराबरको ३० करोड ९७ लाख दुई हजार ८५९ केजी चामल आयात भएको छ ।

सो अवधिमा सात अर्ब २५ करोड ३० लाख ४१ हजार रुपैयाँ बराबरको मकै आयात भएको छ । यस्तै ६५ करोड ७३ लाख दुई हजार रुपैयाँ बराबरको गहुँ आयात भएको छ । गत वैशाखदेखि भारतले गहुँको आयातमा प्रतिबन्ध लगाएका कारण न्यून परिणाममा आयात भएको छ ।

यस्तै सो अवधिमा ५९ करोड नौ लाख ५९ हजार रुपैयाँ बराबरको धान आयात भएको विभागको तथ्याङ्क छ । पाँच महिनामा ३९ करोड ४१ लाख ६१ हजार रुपैयाँ बराबरको जौ आयात भएको छ । यस्तै एक करोड १५ लाख रुपियाँको कोदो, ४२ लाख रुपियाँ बराबरको चिनु र १७ हजार रुपियाँ बराबरको जुनेलो आयात भएको विभागको तथ्याङ्क छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot