Logo

सरकारको नेतृत्वबारे टुङ्गो लगाउँदै



कैलाली, पुस १२ । केन्द्रमा बनेको सत्ता साझेदार नयाँ गठबन्धन अनुसार सुदूरपश्चिम प्रदेशमा पनि प्रदेश सरकार बन्ने लगभग निश्चित भएको छ ।

बहुमत पुगेकाले सत्ता साझेदार दलको सरकार बन्ने नेताहरूले बताएका छन् । केन्द्रमा बनेको सत्ता साझेदार दलहरूकै सरकार सुदूरपश्चिम प्रदेशमा बन्ने नेकपा (एमाले) का प्रदेश कमिटी सचिव एवम् प्रदेश सभा सदस्य धर्मराज पाठकले बताए ।

‘यहाँ मात्रै हैन, सात वटै प्रदेशमा सत्ता साझेदार दलको सरकार बन्ने सम्भावना छ’, उनले भने, ‘सत्ता साझेदारमध्ये यहाँ प्रतिनिधित्व रहेको चार वटा दलहरूको बहुमत पुग्ने गरेकाले सत्ता साझेदार दलकै सरकार हुन्छ ।’

पाठकले केन्द्र र प्रदेश स्तरमा छलफल गरेर नेतृत्वको विषय टुङ्ग्याइने बताए । ‘नेतृत्व कसले गर्ने भन्ने छलफलको विषय हो’, उनले भने,‘सङ्घ र प्रदेश स्तरमा छलफल गरेर यो विषयको टुङ्गो लगाउँछौँ ।’ यद्यपि, मुख्यमन्त्रीमा आफ्नो पार्टीको पनि दाबी रहने पाठकको भनाइ थियो ।

प्रदेश सभामा दोस्रो ठुलो दल रहेको सत्ता साझेदार माओवादी केन्द्रले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएको छ । सो पार्टीबाट खगराज भट्ट र ओमविक्रम भाट ‘सरल’ दलका नेता बन्ने होडमा रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) सहितको नयाँ गठबन्धनलाई सुविधाजनक बहुमत पुगेको छ । सङ्घको जस्तै यहाँ पनि समीकरण कायम भएमा नयाँ गठबन्धनले सरकार चलाउने छ भने प्रदेश सभामा सबैभन्दा ठुलो दल नेपाली काँग्रेस प्रतिपक्षको भूमिका निर्वाह गर्नेछ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्