काठमाडौं, १२ पुस । नेकपा (माओवादी केन्द्र) का सचिव गणेश साहले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकार चुनौतीको चाङमाथि उभिएको बताएका छन् ।
‘हाम्रो पार्टीको घोषणापत्र र महाधिवेशनको निर्देशन त समाजवादको निर्माणका लागि आधार निर्माण गर्ने हो । तर अहिले दिनप्रतिदिन आम जनताले सुशासनको समस्या भोगिरहेका छन् । जनताको सेवा प्रवाहमा समस्या छ । आर्थिक मन्दी छ । व्यापार घाटा ठूलो छ । कृषि क्षेत्रमा उत्पादन बढाउने चुनौती छ । समग्रमा सरकार चुनौतीको चाङमाथि उभिएको छ,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै साहले भने ।
प्रचण्ड सरकारले इमानदारीपूर्वक जिम्मेवारी पूरा गरे पार्टीले जनताको विश्वास आर्जन गर्ने पनि उनले बताए । साथै साहले राप्रपा मात्र होइन, नेकपा (एस) लाई पनि सरकारलाई ल्याउने प्रयास गर्ने औंल्याए । उनले भने, ‘मन्त्रिपरिषद् निर्माणमा ठूला पार्टीले उदारता देखाउनुपर्छ र साना पार्टीडरूलाई समेट्दै लानुपर्छ ।’