Logo

थप दुई आयोजना किन्न भारत तयार



काठमाडौं, पुस १३ । । नेपालबाट थप दुई आयोजनाको बिजुली निर्यात हुने भएपछि भारतसँग व्यापार घाटा कम हुँदै जाने आशा बढेको छ ।

२४।२५ मेगावाटको काबेली–बी (१) र १९.४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली आयात गर्न भारत तयार भएपछि ऊसँगको व्यापार घाटा घट्ने भएको हो ।

अहिले पाँच महिनामै भारतसँग व्यापार घाटा ३ खर्ब ५२ अर्ब ८० करोड २९ लाख ६७ हजारको छ । विद्युत् उत्पादनमा वृद्धि भएपछि एलपी ग्यास र पेट्रोलियम पदार्थ आयात घट्दै जाने र त्यससँगै बिजुली निर्यातपछि हुने भारतीय मुद्रा आर्जनबाट व्यापार घाटा घट्दै जाने अपेक्षा गरिएको छ ।

भारत सरकारले थप दुई आयोजनासहित इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा करिब ४ सय ५२ मेगावाटबराबरको बिजुली भारत निर्यात हुने भएपछि व्यापार घाटा कम हुने अपेक्षा गरिएको हो ।

तथापि, अहिले हिउँदमा नेपाललाई नै बिजुली अपुग भएका कारण विद्युत् प्राधिकरणले भारतबाट बिजुली खरिद गरेर वितरण गरिरहेको छ । गर्मी र वर्षा सुरु भएपछि भने प्राधिकरणले भारतमा बिजुली निर्यात गर्नेछ ।

भारतमा विद्युत् निर्यात गरेर गत जेठदेखि मंसिरसम्म ७ महिनामा ११ अर्ब १६ करोड ३० लाखभन्दा बढी आम्दानी गरेको थियो । प्राधिकरणले १ अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत् भारत निर्यात गरेको थियो ।

आगामी वर्ष २० अर्बबराबरको निर्यात लक्ष्य लिएको प्राधिकरणले वर्षामा देशभित्र खपत गरी बढी भएको विद्युत् भारतलाई बिक्री गर्ने गरेको छ । राजधानी दैनिकबाट



प्रतिक्रिया दिनुहोस्