Logo

देउवालाई दबाब दिने अवसर नै पाएनौंः कांग्रेस सहमहामन्त्री



काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले पार्टीको संस्थापन इतर समूहका कारण गठबन्धन तोडिएको आरोप लगाउनु अनैतिकताको पराकाष्ठा भएको बताएका छन् ।
‘आफू असफल भइसकेपछि संस्थापन इतर समूहका कारण गठबन्धन भत्कियो भन्नु गलत हो । यो अनैतिकताको पराकाष्ठा हो । वास्तवमा भन्ने हो भने हामीले पार्टी सभापति शेरबहादुर देउवालाई दबाब दिने अवसर नै पाएनौं । न अनौपचारिक अवसर, न त औपचारिक अवसर । सामान्यतया पार्टी सभापतिले निम्त्याएका व्यक्ति नै गठबन्धनमा बैठकमा जान्छन् । महामन्त्रीहरुलाई बोलाएन । पदाधिकारीसँग सुझाव लिइएन । जबर्जस्ती घुस्ने कुरा पनि भएन । हामीलाई बेवास्ता गरियो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
कांग्रेस सहमहामन्त्री पाण्डेले पार्टी नेतृत्वले गठबन्धनको अन्तरविरोधसमाधानमा योग्यता देखाउन नसकेको आरोप पनि लगाए । उनले भने, ‘सरकार निर्माणको प्रयोजनका लागि पार्टीको पदाधिकारी र कार्यसम्पादन समितिको बैठक बसेन । गठबन्धनलाई विघटनको बिन्दुमा पुर्याउनुहुँदैनथ्यो । केही लिने, केही छोड्ने वा विन विन सिचुएसन बनाउनुपथ्र्यो । एउटा राजनीतिक दुर्घटना भएको छ ।’
यसपटक कम्युनिस्ट पार्टीहरुको चरित्र उदांगो भएको पनि उनले बताए । पाण्डेले भने, ‘अहिलेको सरकार राजनीतिक अस्थिरतामाथि खडा भएको छ । जनतासँग शत्रुशक्ति र संसदमा मित्रशक्ति बन्यो । राजनीतिमा थोरै भए पनि नैतिकताको चाहिन्छ । पटकपटक कम्युनिस्ट पार्टीहरुको चरित्र उदांगो भइरहेको छ । यसपटक पनि त्यही भयो ।’
पार्टीभित्र चरम निराशा छाएका बेला कोलाहल वा द्वन्द्व सिर्जना गर्नु उपयुक्त नहुने पनि पाण्डेले औंल्याए । उनले भने,’ पुस २२ गतेको केन्द्रीय समितिको बैठक बोलाइएको छ । त्यसमा सबैले समीक्षा गर्नुपर्छ । महासमिति, राजीनामा, विशेष महाधिवेशन आदि कुरा पार्टीकै त्यही फोरममा छलफल गर्नुपर्छ । यसलाई सार्वजनिक रुपमा टिकाटिप्पणीको विषय बनाउनु उपयुक्त हुँदैन । हामी संसदको ठूलो दल हौं, ठूलो दल नै रहन्छौं । अब आफ्नै बुतामा बहुमत ल्याउने अभियानमा लाग्छौं ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot