Logo

बुद्वसिं मार्गमा कालोपत्र



काठमाडौँ,१३ पुष । तनहुँ र चितवन जोड्ने बुद्वसिं मार्गमा कालोपत्र सुरु गरिएको छ । कूल चौँतिस किलोमिटर दूरीमध्ये पहिलो चरणमा दश किलोमिटर मार्गमा कालोपत्र गर्न लागिएको हो । दमौलीको बसपार्कदेखि सुडेको पुलसम्म कालोपत्र गर्नको लागि ठेक्का सम्झौता भई काम अघि बढेको पूर्वाधार विकास कार्यालयका सूचना अधिकारी एवं इञ्जिनीयर धनमाया मिश्रले जानकारी दिइन् ।

ठेक्काको जिम्मा मैनाचुली सफल जेभी काठमाडाँैले पाएको छ । विसं २०७९ भदौ २७ गते सम्झौता गरेको हो । सडक सात मिटर दुई लेनको हुनेछ । दमौलीबाट पृथ्वीराजमार्ग हुँदै चितवन जानुभन्दा बुद्वसिं मार्ग भएर जाँदा करिब २२ किलोमिटर दुरी छोटो पर्ने इञ्जिनीयर मिश्रले बताइन् ।

तेत्तीस महिनाभित्र सम्पन्न गर्ने सम्झौता भएको छ । उनले भनिन्,“यस कार्यालयबाट चालु आवमा भ्याटसहित रु चाँैतिस करोड २७ लाख, ५४ हजार पाँच सय ६१ लाखको लागतमा सम्पन्न हुनेछ । उक्त मार्गमा करिब चार साना ठूला पुल निर्माण गर्नुपर्ने देखिएको छ ।” कार्यालयले गतवर्ष मन्त्रालयमा विवरण पठाइसकेको उनले बताइन् ।

उक्त मार्गको करिब आठ किलोमिटर दूरी तल्लो सेती परियोजनाले डुवानमा पर्ने भएकोले नयाँ ट्र्याक खोल्नुपर्ने अवस्था रहेको कार्यालयका प्रमुख दिनेश कुमार घिमिरेले जानकारी दिए । यसअघि सडक चौडाइ र नाला निर्माणकार्य गरिएको थियो । गत वर्षातको समयमा पहिराले पुरिएका नाला पन्छाउँदै नाला नभएको स्थानमा नाला निर्माण गरेर दुवै कामसँगै अघि बढाइने योजना रहेको सो कार्यालयले जनाएको छ । रासस

 



प्रतिक्रिया दिनुहोस्

Screenshot