Logo

एमालेसँग एकताको लागि राय माग्न माधव नेपाल जुम-मिटिङमा



काठमाडौं, १३ पुष । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले) सँग एकता प्रक्रिया अघि बढाउने तयारी गरेका छन् । एमाले नेतृत्व तहबाट नै मिलेर जान प्रस्ताव आएपछि र आफ्नो दलको राजनीतिक भविष्य नै संकटमा पर्ने भएपछि नेपाल एकता प्रक्रिया अघि बढाउनेगरि छलफलमा जुटेका छन् ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेपछि मुलुकको राजनीति नयाँ ढंगले अघि बढेको छ । पूनः वामपन्थीहरुको वर्चश्व सरकारमा देखिएको छ । प्रधानमन्त्री दाहालले आज माधव नेपालसँग भेट गरेर सरकारमा सहकार्यको लागि प्रस्ताव गरिसकेका छन् ।

त्यसमा नेपालले मिलेर जान सकिने जवाफ दिएका छन् । त्यो भन्दापनि बढि एमाले शीर्ष नेताहरुले माधव नेपाललाई पूरानो घर एमालेमा फर्कन दबाब दिएका छन् । नेकपा (एस) मा पनि अधिकांश नेताहरुले एमालेसँग एकताको लागि अहिले नै उपयुक्त समय भएको भन्दै मिल्न दबाब दिन थालेका छन् ।

दोहोरो दबाब र राजनीतिक भविष्य नै असुरक्षित देखेका नेपालले एमालेसँग तत्काल एकता प्रक्रिया अघि बढाउने कि के गर्ने भन्नेबारे राय लिन जुम मिटिङ बोलाएका छन् । उनीनिकट उच्च स्रोतकाअनुसार नेपालले आजैबाट त्यसको लागि पहल थालेका छन् । अधिकांश नेताहरुले अब एमालेसँग मिलेर जानुपर्ने बेला भएको भन्दै ढिला नगरी निर्णय लिन दबाब दिएका छन् ।

एमालेले पनि माधव नेपाललार्इृ एमालेमा फर्काएर संसद्को पहिलो दल बन्ने रणनीति लिएको छ । अहिले एमालेसँग ७८ सांसद छन् । माधव नेपालका १० सांसद थपिए ८८ पुग्नेछ । र, दुई जना स्वतन्त्र सांसदहरुलाई जोड्नेगरि छलफल अघि बढेकोले एमाले ९० सिटसहित संसद्को पहिलो दल बन्ने रणनीतिमा छ ।

प्रधानमन्त्री दाहालले यही पुष २५ गते बस्ने प्रतिनिधिसभाको पहिलो अधिवेशन बैठकमै विश्वासको मत लिने तयारी गरेका छन् । त्यो भन्दा अघि नै नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेर सहमति गर्ने बुझिएको छ । आजमात्रै एमाले नेता महेश बस्नेतले नेपालसँग भेटेर पार्टी एकता र सहकार्यको प्रस्ताव राखेका छन् । जसमा नेपालले सकारात्मक जवाफ दिएको बस्नेतको दाबी छ । file photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्