Logo

उदार र जिम्मेवार हुनुपर्ने कांग्रेसमै अहंकार देखियोः माओवादी नेता



काठमाडौं, १४ पुस । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद शक्तिबहादुर बस्नेतले संयुक्त सरकारमा सहभागी दलहरुबीच समझदारी गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने र न्यूनतम साझा नीति तथा कार्यक्रम ल्याउने बताएका छन् ।
‘प्रधानमन्त्री प्रचण्ड अनुभवी हुनुहुन्छ । आफ्ना एजेन्डामा प्रधानमन्त्री स्पष्ट हुनुहुन्छ । आर्थिक सुधार अहिलेको चुनौतीपूर्ण जिम्मेवारी हो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै बस्नेतले भने ।
माओवादीभित्र मन्त्रीमा खिचातानी नभएको पनि उनले दाबी गरे । बस्नेतले भने, ‘यो संयुक्त सरकार हो । यसमा सबै साथीहरु जानकार हुनुहुन्छ । अहिले यो चाहिन्छ भन्ने होइन, मिल्यो भने जाने हो । मन्त्री बन्नु नै मुख्य कुरा त होइन नि त ।’
प्रचण्डलाई बधाई दिन वर्षमान पुन नगएको भन्ने खबर गलत भएको पनि उनले बताए । बस्नेतले भने, ‘त्यो सही कुरा होइन । हामी सँगै गएर बधाई दिएका हौं ।’
गठबन्धन जोगाउन नेपाली कांग्रेस उदार र जिम्मेवार नभएको पनि बस्नेतले औंल्याए । उनले भने, ‘कांग्रेस उदार हुनैपर्थ्र्यो । ऊ पूर्वसमझदारीमा नअडिनु नै दुःखद हो । कांग्रेस माउदार नभएर अहंकार देखायो । २०६४ मा माओवादी र २०७४ मा एमालेको अहंकार कांग्रेसमा देखियो ।’ उनले एकीकृत समाजवादी पनि सरकारमा सहभागी हुने ठोकुवा गरे ।



प्रतिक्रिया दिनुहोस्