काठमाडौं, १४ पुस । जनता समाजवादी पार्टी संसदीय दलका नेता रामसहायप्रसाद यादवले सरकारमा जाने वा नजाने निर्णय गर्न बाँकी रहेको बताएका छन् ।
‘जसपाले वर्तमान सरकारलाई समर्थन दिएको छ तर सरकारमा जाने कि नजाने ? सर्त राख्ने वा नराख्ने ? कति मन्त्रालय पाउने ? को को जाने भन्ने कुनै निर्णय भएको छैन । पुस १६ गतेको कार्यकारिणी समिति र १८ र १९ गते राजनीतिक समितिले यसबारे आवश्यक निर्णय गर्छ । हामी विगतमा पनि पार्टी निर्णयका आधारमा गएका हौं । अब पनि पार्टी निर्णयका आधारमा गर्छौं,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै यादवले भने ।
तपाईं उपराष्ट्रपति भएर उपेन्द्र यादवलाई बारा २ छाड्न लाग्नुभएको हो भन्ने धमलाको प्रश्नमा जसपा संसदीय दलका नेता यादवले भने, ‘यो कुरा म पहिलो पटक तपाईंको मुखबाट सुनिरहेको छु । यसबारे मलाई केही थाहा छैन । यसबारे पार्टीम छलफल भएको पनि छैन । यसबारे अहिले टिप्पणी गर्नु हतारो हुन्छ ।’
नागरिकता विधेयक तत्काल प्रमाणीकरण हुनुपर्ने आवश्यकता पनि उनले औंल्याए । यादवले भने, ‘नेपाली नागरिकलाई नागरिकता दिनुपर्छ भनेर दुवै सदनले पास गरेको हो । नागरिकताविहीन भएर उनीहरुले जागिर खान पाएका छैनन्, पढ्न पाएका छैनन्, बैंकमा कारोबार गर्न पाएका छैनन् । यसकारण यो विधेयक तुरुन्त राष्ट्रपतिबाट प्रमाणीकरण गर्नुपथ्र्यो, गर्नुपर्छ ।’
मधेस प्रदेशको मुख्यमन्त्रीमा आफ्नो दलको दाबी रहने पनि उनले बताए । यादवले भने, ‘मधेस भनेको संघीयताको जननी हो । मधेस प्रदेशमा हाम्रो सरकार बन्नुपर्छ । हामी त्यसका लागि अधिकतम प्रयत्न गर्छौं । यो प्रस्ताव हामी गठबन्धनमा पनि राख्छौं ।’ प्रदेश संसदीय दलले चुनेको नेता नै मुख्यमन्त्री हुने पनि पनि उनले बताए ।