Logo

आफ्नै बोझ थाम्न नसकेर प्रचण्ड सरकारको आयु छोटिनेछ : डा. प्रकाशशरण महत (भिडिओसहित)



काठमाडौं, १४ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले गठबन्धनको कार्यदलमा पार्टीबाट नेतृत्व गरेकाहरुले उचित समयमा निर्णय लिन नसक्दा गठबन्धन टुटेको आरोप लगाएका छन् । बुधबार (हिजो) प्राइम टाइम टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा ऋषि धमलासँग संवाद गर्दै प्रवक्ता महतले कार्यदलमा रहेका ज्ञानेन्द्र बहादुर कार्की, पूर्णबहादुर थापा, कृष्ण सिटौला, महामन्त्री गगन थापा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको कारण गठबन्धन टुटेको आरोप लगाएका हुन् ।

‘मैले पटक–पटक पार्टी सभापतिलाई र कार्यदलका नेताहरुलाई यो गठबन्धन टुट्न हुँदैन, सकेसम्म नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्छ । पार्टीको नेतृत्वमा सरकार बनाउने कुरामा विकल्प भरपर्दो छैन भनेर मैले पटक–पटक भनेको थिएँ । कार्यदलमा बसेकाहरुबाट परिणाम आउन सकेन,’ उनले भने ।

महामन्त्री गगनकुमार थापातर्फ लक्षित गर्दै प्रवक्ता महतले नेपाली कांग्रेस जीवन्त रहेको र लुडो खेलजस्तो सयबाट शून्यमा नझरेको बताए । साथै कांग्रेसले अब सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने पनि उनले दावी गरे । साथै अहिलेको सत्ता गठवन्धनलाई उनले अपवित्र गठबन्धनको संज्ञा दिएका छन् ।

‘कोही राजा चाहने, कोही गणतन्त्र, चाहने, कोही संघीयता चाहने, कोही संघीयता नचाहने विभिन्न दिशातर्फ फर्किएका दल मिलेर अहिलेको सरकार बनेको छ । यो विशुद्ध पदको लागि बनेको गठबन्धन हो । आफ्नै बोझ थाम्न नसकेर यसको आयु छोटिने छ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्