Logo

मकै पोलेर गुजारा



काठमाडौँ,१४ पुष । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोटको व्यस्त सडक । सडक छेउ त्रिपाल टाँगेर बनाइएका टहरामा करिब २५ घर परिवार बस्छन् । उनीहरुको दैनिकी मकै पोलेर बिक्री गर्दै बित्छ ।

गैँडाकोटको सडक छेउमा छाप्रोभित्र मकै पोल्दै छन् गैँडाकोट–७ का पिङ्की दराई । उनि विगत पाँच वर्षदेखि यसैगरी मकै पोलेर जीविका चलाउँदै आएका छन् । मकै पोलेरै परिवारको खर्च धानिरहेका छन् ।

“छोराछोरीकालाई दिनुपर्ने पैसाका लागि पहिले बुढासँग माग्नुपथ्र्यो तर अहिले पर्दैन”, उनले भने, “खर्च कटाएर दैनिक एक हजारदेखि तीन हजारसम्म जम्मा गर्न सक्छु ।”

गैँडाकोट नगरपालिका मकै पकेट क्षेत्रका रूपमा परिचित छ । यहाँ पोलेको मकै बेच्ने सबै जनाले नगरभित्रका विभिन्न स्थानबाट हरियो मकै खरिद गर्ने गर्दछन् । खाली समयको सदुपयोग गर्दै सुरु गरेको व्यापारबाट आम्दानी राम्रो हुन थालेपछि २७ वर्षीय जुना परियार खुसी छिन् ।

सडक छेउमा मकै पोलेर अन्यले राम्रो आम्दानी गरेको र हरियो मकै नगरभित्रै खरिद गर्न पाएपछि जुनाले मकै पोल्ने पेसा सुरु गरेको हो । गैँडाकोट नगरपालिका–६, ७ र ९ नं वडालाई मकैको पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ । बाह्रैमासे मकै राम्रो उत्पादन हुने भएकाले पनि यहाँका स्थानीय मकै व्यापारमा आकर्षित भएका छन् । रासस

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot