Logo

एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउला त !



काठमाडौं, १४ पुष । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन टुटेसँगै नेपाली राजनीतिले नयाँ मोड लिएको छ । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमालेसहितका सात दल र तीन स्वतन्त्र सांसदहरुको समर्थनमा प्रधानमन्त्री बनेका छन् । प्रचण्डको नेतृत्वमा नयाँ सरकार गठनसँगै पूनः वाम एकताको चर्चा सुरू भएको छ ।

संसद्को दोस्रो ठूलो दलमा रहेको नेकपा (एमाले) ले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई समर्थन गरी नयाँ सत्ता समीकरण बनाउन सफल भएसँगै ओलीलाई नेपाली राजनीतिको ‘किङमेकर’ का रुपमा लिन थालिएको छ । यसलाई वाम एकताको संकेतका रुपमा समेत हेरिएको छ । नेकपा (एमाले) बाट टुटेर बनेको नेकपा (एकीकृत समाजवादी) लाई समेत सत्ता गठबन्धनमा ल्याउने तयारी भएको छ । यसको लागि एमालेका शीर्ष नेताहरु नै सक्रिय भएका छन् । नेकपाको विवाददेखि एमाले विभाजन गरेर एकीकृत समाजवादी पार्टी बनाउँदाको अवधिसम्म माधव नेपाल लामो समयसम्म प्रचण्डसँगै उभिएका थिए । तर, प्रचण्डले कांग्रेस नेतृत्वको गठबन्धन तोडेर एमालेसँग सहकार्य थालेपछि भने उनको दाहालसँगको साथ छुटेको थियो । संसदीय राजनीतिमा राष्ट्रिय दलको मान्यतासमेत नपाएको (एकीकृत समाजवादी) का अध्यक्ष नेपाल अहिले राष्ट्रपति बन्ने चर्चामा छन् ।

ओली र नेपालको आन्तरिक इगोका कारण झण्डै दुईतिहाई नजिक रहेको सत्ता गुमाउन पुगेको एमालेले नेता नेपाललाई राष्ट्रपतिमा समर्थन गरेर अगाडि बढ्ला त ? भन्ने पनि प्रश्न यतिवेला उब्जिएको छ । एमालेका दोस्रो पुस्ताका नेताहरु भने नेकपा (एकीकृत समाजवादी) सँग पार्टी एकीकरण र उक्त दलका अध्यक्ष नेपाललाई राष्ट्रपतिका रुपमा स्वीकार्न तयार छैनन् । यता, माधव नेपालले पनि हिजो (बुधबार) पार्टीका नेता तथा कार्यकर्तासँग जुम मिटिङमार्फत सुझाव मागेका छन् ।

नेपाललाई राष्ट्रपति स्विकार गर्न नसकिने पक्षमा अध्यक्ष ओलीका विश्वासपात्रका रुपमा चिनिएका नेताहरु गोकुल बाँस्कोटा, सूर्य थापा, विष्णु रिमाल, डा. राजन भट्टराईहरु रहेका छन् । तर, एमालेकै अर्काथरी नेताहरु भने वाम एकताको विकल्प नरहेको भन्दै माधव नेपाललाई एमालेमा ल्याउनको लागि सक्रिय भएका छन् । यसको लागि सबैभन्दा बढि सक्रिय भएर महेश बस्नेत खटिएका छन् ।

पछिल्लो दुई सातामा बस्नेतले नेपालसँग तीन पटक एक्लाएक्लै भेटवार्ता गरिसकेका छन् । आन्तरिक इगो र भागबण्डा नमिलेकै कारण झण्डै दुईतिहाईको सत्ता गुमाउन पुगेको तत्कालिन नेकपा फेरि व्युँतिने हल्लार्ले ‘राजनीतिमा स्थायी शत्रु कोही हुँदैन’ भन्ने कथनलाई पुष्टि गरेको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री दाहालले पनि पार्टीभित्र पूनः वाम एकताको सम्भावनाबारे आफ्नो धारणा साझा गरेका छन् । उनले उपेन्द्र यादव नेतृत्वको जसपालाई पनि वाम एकताभित्र ल्याउन पहल गरिने बताउन थालेका छन् ।file photo



प्रतिक्रिया दिनुहोस्