Logo

बागमती सरकारको नेतृत्वमा एमाले र माओवादीको दाबी, को बन्ला मुख्यमन्त्री !



 

काठमाडौं, १४ पुष । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको पाँच दलीय सत्ता गठबन्धन टुटेर केन्दमा नयाँ राजनीतिक समीकरण बनेसँगै त्यसको प्रभाव प्रदेशमा पनि परेको छ । अब सत्ता साझेदार दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्वमा सातै प्रदेशमा सरकार बन्ने छ । त्यसैबीच बागमतीमा एमाले वा माओवादी कसले मुख्यमन्त्री पाउँछ भन्ने विषय चर्चामा रहेको छ ।

अघिल्लो पाँच वर्षमा तीन जना मुख्यमन्त्री व्यहोरेको बागमती प्रदेशमा दोस्रो कार्यकाल भने एमाले, माओवादी कसले नेतृत्व गर्ने भन्ने औपचारिक निर्णय हुन बाँकी नै छ । एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दिएको अभिव्यक्ति अनुसार सातै प्रदेशको भागबन्डा केन्द्रीय नेतृत्वले मिलाइसकेको छ । प्रचण्डनिकट स्रोतका अनुसार बागमतीको मुख्यमन्त्रीमा माओवादीको बलियो सम्भावना रहेको छ ।

एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन् भने माओवादीले भोलिसम्ममा चयन गर्ने तयारी रहेको बताइएको छ । अहिले बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रबाट २ जना र नेकपा एमालेबाट १ जना सांसद चर्चामा रहेका छन् ।

माओवादी केन्द्रबाट शालिकराम जमकटेल र सरल सहयात्री पौडेल मुख्यमन्त्रीको आकांक्षीका रुपमा रहेका छन् । प्रदेश सभामा दोस्रो पटक निर्वाचित जमकट्टेल कांग्रेससँगको गठबन्धन हुँदा पनि मुख्यमन्त्रीको दावेदार थिए । जम्मकटेल र पौडेल दुवै मुख्यमन्त्रीका लागि प्रदेश संसदीय दलको नेताको आकांक्षी रहेको र एकले अर्कालाई छाड्ने अवस्था नरहेसँगै जमकटेल र पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षसमेत रहेका पौडेल प्रदेश संसदीय दलको नेतामा जमकटेल यसअघि पनि भइसकेकाले अहिले उनले छाड्नु पर्ने बताउँछन् ।

त्यसैगरी, एमाले बागमती प्रदेश संसदीय दलको नेतामा  चयन भएका थपलिया चितवनबाट निर्वाचित प्रदेश सभा सदस्य हुन् । उनले प्रदेशको प्रथम मुख्यमन्त्री डोरमणी पौडेलको राजनीतिक सल्लाहकारको भूमिका निर्वाह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot