Logo

प्रचण्डजी तातोपानी नभए चिसोपानीले नुहाउँछु भनेर लाग्नुभयोः कांग्रेस नेता



काठमाडौं, १५ पुस । नेपाली कांग्रेसका नेता गोविन्दराज पोखरेलले पार्टीको नेतृत्वमा सरकार नबन्दैमा राजनीति नसकिएको बताएका छन् ।
‘सत्ता प्राप्त नगर्दैमा कांग्रेस सकियो वा निरीह भयो भन्नु गलत प्रचार हो । सबभन्दा ठूलो दलको सरकार बन्न नसक्दा जनता खिस्रिक्क भएका छन् । कांग्रेसहरु आक्रोशित अवश्य भएका छन् । तर रोएर बसेका छैनन् । मन्त्री, मन्त्रीका पीए बन्ने लाइनमा बसेकाहरु रोए होलान् । कुरा त्यत्ति हो,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पोखरेलले भने ।
शेखर कोइराला र गगन थापाले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिनुहँदैन भनेकाले गठबन्धन टुट्यो भन्नु कुतर्क मात्र भएको पनि उनले औंल्याए । पोखरेलले थपे, ‘शेखर कोइरालाले प्राथमिकतामा राष्ट्रपति राख्नुस्, सक्नुहुन्छ भने प्रधानमन्त्री पनि लिनुस् भन्नुभएको हो । बैठकमा अधिकतम माग राख भन्नु नाजायज होइन । तर प्रधानमन्त्री छाड्नुपर्ने परिस्थिति आयो के गर्ने भनेर पार्टी नेताहरुसँग छलफल गर्नु पर्दैन ? राष्ट्रपति र सभामुख मात्र होइन, चारवटा प्रदेश सरकार समेत गुमाउनुपर्‍यो। शेखर र गगनले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिनुहँदैन भनेकाले गठबन्धन भत्कियो भन्नु कुतर्क हो । यो अत्यन्त हास्यास्पद छ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले अवसरवादी चरित्र देखाएको आरोप पनि उनले लगाए । उनले भने, ‘प्रचण्डजी जहिल्यै अवसरको खोजीमा लाग्ने चरित्र हो भन्ने हामीले बुझेकै हौं । उहाँ तातोपानी नभए चिसोपानीले भए पनि नुहाउँछु भनेर लाग्नुभयो । सरकार नै हाम्रो थियो, गृह मन्त्रालय हाम्रो नै थियो । शेरबहादुर देउवाले किन सूचना पाउनु भएन ? हामीले सिद्धान्त र व्यवहार नमिल्ने दलहरुसँग स्थानीय तह, प्रदेश र संघमा गठबन्धन गर्यौं । लाल सलाम भन्यौं । विभिन्न चिह्नमा भोट हाल्न भन्यौं । पाँच वर्ष स्थिर सरकार दिन्छौं भन्यौं, सुशासन दिन्छौं भन्यौं । आखिरमा के भयो त ?’
पार्टीको विधान अनुसार विभिन्न विकल्पहरु खोजिने पनि उनले बताए । पोखरेलले भने, ‘पार्टीको कार्यशैलीमा रुपान्तरण, भातृ संगठनको पूर्णता, विभाग गठन, विधान अधिवेशन आदि तत्कालका प्राथमिकता हुन् । पार्टी सभापतिको राजीनामा वा विशेष महाधिवेशन प्राविधिक विषय हुन् ।’ ६ महिनापछि संसदीय दलको नेता परिवर्तन हुन सक्ने पनि उनले औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot