Logo

घाम र जुन रहेसम्म एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँदैन् : सूर्य थापा (भिडिओसहित)



काठमाडौं, १५ पुष । नेकपा (एमाले) का युवा नेता तथा प्रतिनिधिसभा सदस्य सूर्य थापाले घाम र जुन रहेसम्म आफ्नो पार्टीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति नबनाउने टिप्पणी गरेका छन् । उनले भने,‘अहिले बजारमा मैले के देख्छु भने माधव नेपाललाई राष्ट्रपति बनाएर एकीकृत समाजवादीसँग एमालेले एकता गर्दैछ, यो घाम र जुन रहेसम्म नहुने कुरा हो ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कुराकानीको क्रममा पत्रकार धमलाले उसो भए एमालेले माधव नेपाललाई राष्ट्रपति बनाउँदैन त ? भनेर राखेको अर्को प्रश्नमा उनले भने–‘राष्ट्रपति बन्नेगरि उहाँले के गर्नुभयो ? के आधारले बनाउने ? १० सिट छन भनेर ।’

नेता थापाले आफ्नो दलको नेकपा (माओवादी केन्द्र) सँग सम्बन्ध सुध्रिएको बताए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कटु आलोचकका रुपमा चिनिएका थापाले एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेसँगै सम्बन्ध सुध्रिएको बताएका हुन् ।

‘प्रचण्डसँग सम्बन्ध बिग्रिएको थियो, उनि बालकोट गएर लयमा फर्किए । कलाकारहरुले ‘के छ खबर पुरानो जोडाको’ भनेर गीतसमेत बनाइसके,’ थापाले भने । साथै नेपाली कांगे्रसको नेतृत्वमा रहेको पूर्व पाँच दलीय गठबन्धनलाई थापाले बदनाम, जनविरोधी, विकास विरोधी र निकम्मा गठबन्धनको संज्ञा दिएका छन् । हालै सम्पन्न मंसिर ४ को निर्वाचनले कांगे्रस सभापति शेरबहादुर देउवा नेतृत्वको अप्राकृतिक गठबन्धनको विदाइ भएको उनले बताए ।

‘यो आवधिक निर्वाचनबाट पुरानो जनादेशसँगै परमादेश विदाइ भयो । ठग बन्धन विदाइ भयो । शेरबहादुर देउवा विदाइ हुनुभयो । उनको नेतृत्वमा मिलेर बनेको ‘कालेकाले मिलेर खाउ भाले’ गठबन्धन असैद्धान्तिक, अप्राकृतिक र केही काम गर्न नसक्ने गठबन्धन विदाइ भयो,’ उनले भने ।

साथै, प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीबीच अब दरार नआउने र माओवादीसँग वाम एकता चाहिँ नहुने उनले बताएका छन् । अहिलेको सरकारमा राष्ट्रपति र सभामुख एमालेको भागमा रहेको र एमालेसँग राष्ट्रपति बनाउनका लागि एक सय एक उम्मेदवार रहेको उनले बताए । साथै, एमालेले सौदाबाजी र बदलाको राजनीति नगर्ने दाबी गर्दै अबका दिनमा माओवादीसँग विश्वासको राजनीति सुरु भएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot