Logo

सम्बन्धनको दोहोरोपनाले उच्च शिक्षा समस्यामा



काठमाडौं, पुस १६ । काठमाडौंमा केन्द्रीय कार्यालय रहेको त्रिभुवन विश्वविद्यालय र चितवनमा केन्द्रीय कार्यालय भएको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवै सङ्घीय सरकारको लगानीमा सञ्चालित उच्च शैक्षिक संस्था हुन् तर यी दुवै विश्वविद्यालयको चितवनको खैरहनीमा र रामपुरमा आङ्गिक क्याम्पस सञ्चालनमा छन्।

दुई फरक विश्वविद्यालयले एकै प्रकृतिका शैक्षिक कार्यक्रम एकै स्थानमा सञ्चालन गर्दा उच्च शिक्षामा दोहोरोपन देखिएको छ।

त्यस्तै कञ्चनपुरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिम विश्वविद्यालय र चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय दुवैको कृषि क्याम्पस कैलालीको टीकापुरमा एकै ठाउँमा छ। मुलुकमा सञ्चालित विश्वविद्यालयहरूमा सम्बन्धन दिने नीति र मापदण्ड प्रभावकारी नभएको यी दुईवटा उदाहरणबाट स्पष्ट हुन्छ। साथै विश्वविद्यालयको सम्बन्धन प्रक्रिया अव्यवस्थित रहेको पनि यसबाट पुष्टि हुन्छ।

उच्च शिक्षाको सम्बन्धनमा देखिएको दोहोरोपन र कमसल मापदण्डका कारण मुलुकको उच्च शिक्षाको गुणस्तरमा नै प्रश्नहरू उब्जिएको राष्ट्रिय योजना आयोगका सदस्य डा पुष्परमण वाग्लेको संयोजकत्वमा गठन गरिएको कार्यसमितिको प्रतिवेदनले औँल्याएको छ।

उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउन आवश्यक कार्यढाँचा प्रस्तुत गर्न सरकारले उहाँको संयोजकत्वमा नौ सदस्यीय कार्यसमिति गठन गरेको थियो। सम्बन्धन नीति र मापदण्डमा देखिएको अव्यवस्थाले उच्च शैक्षिक संस्थाहरूको दिगोपनामा नै प्रश्न उठेको उक्त प्रतिवेदनको निष्कर्ष छ। गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot