Logo

एकीकृत समाजवादीलाई सरकारमा सामेल गरेपछि पार्टी एकीकरण गर्न सजिलो हुन्छः एमाले नेता



काठमाडौं, १६ पुस । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारमा नेकपा (एकीकृत समाजवादी) लाई समेट्नुपर्ने बताएका छन् ।
‘यो वामपन्थी गठबन्धनको सरकार हो । एकीकृत समाजवादीलाई सरकारमा सामेल गरेपछि पार्टी एकीकरणतर्फ अघि बढ्न सजिलो हुन्छ । यसो भयो भने सहकार्य र हार्दिकता बढ्छ, मनोवैज्ञानिक परिवर्तन हुन्छ । अब नकारात्मक कुरा भुल्ने र सकारात्मक कुरा गर्ने समय आयो,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रचण्डलाई प्रधानमन्त्री बनाउन तयार भैसकेको अवस्थामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग संवाद नगर्ने प्रश्न नै नभएको उनले दाबी गरे । ज्ञवालीले थपे, ‘अहिलेको स्थितिमा माओवादी केन्द्रसँग भन्दा एकीकृत समाजवादीसँग एकता सजिलो हुन्छ । माओवादी केन्द्रसँग पनि माओवादको पुच्छरबाहेक सबै कुरा मिल्छ । अब संवादको वातावरण बनाउनुपर्छ ।’
गठबन्धन सरकारलाई पाँच वर्ष टिकाउन पनि पार्टी एकीकरणको आवश्यकता ज्ञवालीले औंल्याए । उनले भने, ‘आलोपालो वा जे भने पनि यो गठबन्धन पाँच वर्ष टिकाउनैपर्छ । एकीकृत समाजवादीसँग एकता पक्का भयो भने वाम गठबन्धनलाई ढुक्क हुन्छ । विचार मिल्ने कम्युनिस्टहरु अलग-अलग बस्नुको अर्थ छैन । उनले एकीकरण वा विलय जे शब्द प्रयोग गरे पनि मूलतः एमालेमा फर्कने कुरा हो । नेकपा (एकीकृत समाजवादी) लाई सरकारमा सामेल गरेपछि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत लिन समस्या नआउने पनि उनको धारणा छ ।
अर्को प्रसंगमा एमाले उपाध्यक्ष ज्ञवालीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने कुरा ठूलो नभएको पनि बताए । उनले थपे, ‘हामी पृथ्वीनारायण शाहबारे सकारात्मक छौं । पुस २७ लाई राष्ट्रिय एकता दिवस मानेर सार्वजनिक बिदा गर्न समस्या होला जस्तो लाग्दैन ।’



प्रतिक्रिया दिनुहोस्