काठमाडौं, १६ पुष । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले प्रचण्ड र माधव नेपालको राजनीति जोगाउन खोज्दा पार्टीले आज घाटा व्यहोरेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यकक्रममा ऋषि धमलासँग संवादका क्रममा सहमहामन्त्री राठौरले केपी ओलीले संसद विघटन गर्दा शेरबहादुर देउवा निर्वाचनमा जान तयार रहेपनि पार्टी भित्रको आन्तरिक दवाब र माधव नेपाल, प्रचण्डले ‘हामीलाई बचाइदिनु पर्यो’ भनेका कारण कांग्रेसले साथ दिएको बताएका हुन् ।
‘संसदलाई बचाएर संविधान कार्यान्वयनको बाटोमा लिएर जानुपर्छ भनेर हामीले उहाँहरुलाई साथ दियौं । हिजो हामी निर्वाचनमा गएको भए प्रचण्ड र माधव नेपालजीको हालत के हुन्थ्यो ? हरेक पलमा हामीले बचाएर यहाँसम्म ल्यायौं । उहाँ (प्रचण्ड) ले यसरी धोका दिनुहुन्छ भन्ने देउवालाई कसरी थाहा हुन्छ ?,’ उनले भने । गठबन्धन जोगाउन पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रभावकारी भूमिका नखेलेको उनको आरोप छ ।
नेपाली कांग्रेस सत्तामा जानका लागि मात्र बनेको पार्टी नभएको पनि उनले बताए । दुइतिहाईको नेकपा फुटाएर कांग्रेसको गुहारमा आएका प्रचण्डले फेरि एमालेसँग मिल्नु जनतामाथिको खेलबाँड भएको पनि उनले बताए । ‘आज आएर कम्युनिष्ट मिल्नु थियो भने हिजो केपी ओलीले दुईतिहाइको सरकार मिलाएर किन नगएको ? प्रचण्ड किन पार्टी फुटाएर कांग्रेससँग गुहार माग्न आएको ? यो जनतासँग कम्युनिष्टहरुले खेलबाँड गरेको हो,’ उनले भने ।