Logo

रवि लामिछानेले अहिलेसम्मको एक नम्बर गृहमन्त्री भएर काम गर्नुहुन्छ : मुकुल ढकाल



काठमाडौं, १६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टीका सभापति रवि लामिछाने गृहमन्त्रीको रुपमा अहिलेसम्मका एक नम्बरको गृहमन्त्रीको रुपमा काम गर्ने दाबी गरेका छन् । ढकालले आफ्नो पार्टी गठबन्धनमा सहमति भएपछि मात्र सरकारमा सामेल भएको दाबी गरेन् ।

‘हामी रातारात सरकारमा गएका होइनौं । सरकारमा जानुभन्दा पहिले हाम्रा केही सर्त थिए- सुशासनका लागि निर्बाध काम गर्न पाउनुपर्छ, विदेशमा बस्नेको मताधिकार पाउनुपर्छ आदि । त्यसमा सम्झौता भएर नै हाम्रो पार्टी सरकारमा गएको हो । चार-पाँच दिनपछि साझा न्यूनतम कार्यक्रममा हाम्रा कुरा समेटिन्छन् । हामी काम गर्नका लागि सरकारमा गएका हौं,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै ढकालले भने ।

काम गर्ने मन्त्रालय त अरु पनि छैनन् र भन्ने पत्रकार धमलाको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘तपाईंले भनेजस्तै कृषि, श्रम, पर्यटन मन्त्रालयमा पनि हाम्रो चासो छ । काम गर्नु मात्र हाम्रो उद्देश्य हो । हामीले काम गरेनौं भने अर्कोचोटि जनताले भोट दिँदैनन् । त्यसैले रवि लामिछानेले अहिलेसम्मको एक नम्बर गृहमन्त्री भएर काम गर्नुहुन्छ ।’ पार्टीले हैसियत अनुसार सरकारमा मन्त्रालय लिने पनि उनले बताए । आफ्नो पार्टीले उपराष्ट्रपति नभई उपसभामुखमा दाबी गरेको पनि उनले स्पष्ट पारे ।

साथै उनले नागरिकता र राहदानी प्रकरणमा चोख्याउन रवि लामिछाने गृह मन्त्रालयमा नगएको दाबी पनि गरे । ढकालले भने, ‘नागरिकता वा राहदानी विवादमा गृहमन्त्रालयमै छानबिन चलिरहेको भए पनि हामी कुनै प्रकारको हस्तक्षेप गर्दैनौं, अवरोध गर्दैनौं । अझ यो त अदालतको विषय भैसक्यो । गल्ती छ भने अदालतले भनिहाल्छ । गृह मन्त्रालयको क्षेत्राधिकार धेरै हुन्छ, काम गर्ने धेरै ठाउँ छ भनेर चुनौती स्वीकार गरेर गएको हो । रवि लामिछाने आफूलाई निर्दोष साबित गर्न वा चोख्याउन गृहमन्त्री हुनुभएको होइन ।’

 



प्रतिक्रिया दिनुहोस्