Logo

सशस्त्रमा भेट्नै परे विभागीय स्वीकृति अनिवार्य



काठमाडौं, पुस १७ । सशस्त्र प्रहरी बल नेपालले मातहतका कर्मचारीलाई कूटनीतिक नियोग तथा राजनीतिक नेतृत्वसँग भेटघाट क्रममा पालना गर्नुपर्ने आचारणसम्बन्धी स्थायी आदेश जारी गरेको छ ।

यसअघि गृह मन्त्रालयले विभिन्न कूटनीतिक नियोग प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका नेतृत्वसँग भेट्दा अनिवार्य ‘विभागीय स्वीकृति’ लिन सुरक्षाकर्मीलाई निर्देशन दिएसँगै सशस्त्र प्रहरी बल नेपालले स्थायी आदेश जारी गरेको हो ।

आदेशबाट ‘आफू खुसी भेटघाट गर्ने परम्परा अन्त्य हुने’ सशस्त्र प्रहरी बल प्रधान कार्यालय सूचना शाखा प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाको विश्वास छ । उनका अनुसार अब भेटघाट गर्नुपरे अनिवार्य स्वीकृति लिनुपर्ने छ ।

त्यस्तै, सरकारी प्रयोजनका लागि भेटघाट गर्नुपर्ने भए संगठनका तर्फबाट सम्बन्धित कर्मचारीका नाममा जारी ‘रवानापत्र वा तोक आदेशपत्र’ साथमा लिई जानुपर्ने छ ।

यसैगरी, कूटनीतिक भेटघाट सम्बन्धमा परराष्ट्र मन्त्रालयबाट जारी ‘कूटनीतिक आचारसंहिता, २०६८’मा उल्लेख भएअनुसारको प्रक्रिया पूरा गर्नुपर्नेछ ।

साथै, सशस्त्र प्रहरी बल नेपालले सांगठानिक तथा व्यक्तिगत भेटघाट तथा सम्पर्कका लागि र विभिन्न सञ्चारमाध्यसँग सम्पर्क एवं अन्तर्वार्ताका लागि दुईवटा स्वीकृतिको निवेदन फारमसमेत जारी गरेको छ ।

भेटघाट तथा सम्पर्क सम्बन्धमा राजपत्रांकित अधिकृतले फारमअनुसारको निवेदन आफू कार्यरत कार्यालबाट सिलसिलेवार रूपमा सशस्त्र प्रहरी महानिरीक्षक सचिवालयमार्फत् स्वीकृति लिनुपर्नेछ ।

राजपत्र अनंकित कर्मचारीले आफू कार्यरत कार्यालयमार्फत् सिलसिलेवार मानवस्रोत विभाग प्रमुखको स्वीकृति लिनुपर्नेछ र सो स्वीकृतिको जानकारी मानवस्रोत प्रमुखले सशस्त्र प्रहरी महानिरीक्षकलाई गराउनुपर्ने आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्