काठमाडौं, पुस १७ । नियमविपरीत केही निजी डेरी उद्योगीले दूधको खुद्रा मूल्य प्रतिलिटर १४ रुपैयाँ बढाएका छन् । डेरी उद्योग सङ्घको निर्देशन भन्दै केही डेरी उद्योगीले किसानको खरिद मूल्य बढेको वहानामा दूधमा प्रतिलिटर १४ रुपैयाँ मूल्य बढाएका हुन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा दुग्ध विकास संस्थान, राष्ट्रिय दुग्ध विकास बोर्ड, डेरी उद्योग, उत्पादकसहितको अध्ययन टोलीले सिफारिस गरेको मूल्यको आधारमा दूधको मूल्य बढाउने व्यवस्थाको अवज्ञा गर्दै सीमित निजी उद्योगीले एकलौटी ढङ्गबाट मूूल्य बढाएका हुन् ।
यस्तै अध्ययन टोलीको सिफारिसका आधारमा सरकारले यसअघि २०७८ माघ २८ मा सरकारले दूधको खुद्रा मूल्य ८६ रुपैयाँ तोकेको थियो । यसलाई अवज्ञा डेरी गर्दै केही डेरीले दूधको मूल्य प्रतिलिटर एक सय पु¥याएको पाइएको हो । शनिबार बजारमा आधा लिटर दूधको प्याकेटमा ५० रुपियाँ मूल्य अङ्कित गरी पठाएका छन् ।
डीडीसी र डेरी एसोसिएसन आबद्धले बढाएनन्
सङ्घ आबद्ध डेरीले मूल्य बढाए पनि दुग्ध विकास संस्थानलगायत नेपाल डेरी एसोसिएसनमा आबद्ध डेरी व्यवसायीले भने मूल्य बढाएका छैनन् ।
दुग्ध विकास संस्थान (डीडीसी)का महाप्रबन्धक सञ्जीव झाले डीडीसीले दूधको मूल्य वृद्धि नगरेको जानकारी दिए । “निर्धारित प्रक्रिया पूरा नगरी एकतर्फी मूल्य वृद्धि गर्ने काम जायज होइन,” उनले भने, “डीडीसी दूधको मूल्य बढेको छैन, प्रतिलिटर ८६ रुपैयाँ नै हो ।”
नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले एसोसिएसनमा आबद्ध डेरीले मूल्य नबढाएको बताए । गोरखापत्र दैनिकबाट