Logo

प्रचण्डले समाज रुपान्तरणको संकल्प लिनुभएको छ, अनुभूति हुने गरी काम हुन्छ– रामदीप आचार्य



काठमाडौं, १७ पुष । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता रामदीप आचार्यले पाँच दलीय सत्ता गठबन्धन टुट्नुमा पार्टी र प्रचण्डको कुनै दोष नभएको बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कांग्रेसकै नेतृत्वले सही पहल कदमी नलिँदा गठबन्धन टुटेको र यो कुरा कांग्रेसका नेताहरुले स्वीकारसमेत गरिसकेको बताएका हुन् ।

‘कांग्रेसको नेतृत्वले पावर सेयरिङका लागि प्रस्ताव राख्नुपर्थ्यो। कांग्रेसकै नेता साथीहरुले पार्टीले मिलाएन, सही ढंगले पहल कदमी लिएन भनिराख्नु भएको छ । यो बाध्यात्मक आवश्यकता हो,’ उनले भने ।

साथै, देशको राजनीतिक स्थिरताका लागि विचारका आधारमा राजनीतिक केन्द्र निर्माण गर्दा कम्युनिष्ट आन्दोलनको पुनर्संरचना निर्माण हुने उनको दावी छ । प्रचण्ड नेतृत्वको सरकारको पहिलो चुनौति अस्थिरताबाट पार पाउनु रहेको उनले बताए । अहिले राजनीतिक दलबीच रुपान्तरणको खाँचो रहेको पनि उनले औंल्याएका छन् ।

साथै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मतका लागि कुनै समस्या नभएको उनको दावी छ । राजनैतिक नैतिकताको आधारमा दलहरुले राष्ट्रपति समक्ष बुझाएको हस्ताक्षर अहिलेको अवस्थामा परिवर्तन हुन नसक्ने उनले बताए । अब प्रचण्ड समाज रुपान्तरणको नयाँ संकल्पका साथ अगाडि बढेको उनको दावी छ । यो कार्यकालमा प्रचण्डले जनताले अनुभूति गर्ने गरी काम गर्ने उनले बताए ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्