Logo

एमाले र एकीकृत समाजवादीबीच एकता हुनसक्छ : ऐन महर



काठमाडौं, १७ पुष । नेकपा (एमाले) का युवा नेता ऐन महरले नेकपा (एकीकृत समाजवादी) र एमालेबीच एकता हुन सक्ने बताएका छन्। प्राइम टाइम्स टेलिभिजनको चर्चित जनता जान्न चाहान्छन कार्यक्रमका लागि पत्रकार ऋषि धमालासँगको कुराकानीमा नेता महरले समाजवादी र एमालेबीच एकता हुने कुरा असम्भव नरहेको बताएका हुन्। उनले भने,‘एकताका लागि एमालेको विषयमा छलफल भएको छैन तर सम्भावनाको कुरा हो। राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैनन्।’

यस्तै नेता महरले एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’नेतृत्वको सरकारलाई सहयोग गर्ने बताएका छन्। उनले भने, ‘विगतमा जस्तो एमालको सरकारलाई अवरोध भएजस्तो अहिले प्रचण्ड नेतृत्वको सरकारलाई अवरोध हुँदैन। सत्तामा जोडिसकेपछि सरकारको नेतृत्व गर्ने ब्यक्तिलाई काम गर्न दिनुपर्छ। त्यो एमालेको नैतिक दायित्व पनि हो।’

तर, समाजवादीका नेता आलोक रायमाझीले एकताको विषयमा एमालेसँग कुनै छलफल स्पस्ट पारे। उनले भने, ‘अहिलेसम्म समाजवादी अध्यक्ष माधव कुमार नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पार्टी एकताबारे कुनै छलफल भएको छैन। यथास्थितिमा एकताको कुरा असम्भव छ।’

यस्तै नेता रायमाझीले एकीकृत समाजवादी वर्तमान सरकारको नीति तथा कार्यक्रम हेरेपछि मात्रै गुण र दोषको आधारमा सरकारमा जाने वा प्रतिपक्षमा बस्ने निर्णय गर्ने बताए।

उनले भने, ‘सरकारमा जाने विषय हामीले स्पस्ट गरेका छौं। सरकारले अहिलेसम्म न्यूनतम साझा कार्यक्रमपनि ल्याएको अवस्था छैन। कार्यक्रम लिएपछि हामीले त्यस आधारमा हामी सरकारमा जाने अथवा सरकारलाई समर्थन गर्ने अथवा प्रतिपक्षमा बस्ने भन्ने ती कुरामा निर्भर रहन्छ। सरकारले लिएको कार्यक्रम हेरेपछि गुण र दोषको आधारमा हामीले सरकारमा जाने वा प्रतिपक्षमा बस्ने भन्ने निर्णय हुन्छ।’



प्रतिक्रिया दिनुहोस्