Logo

प्रचण्डले छिमेकीसँगको कूटनीतिक सम्बन्धमा सुधार ल्याउलान्?



काठमाडौं, पुस १८ । । प्रधानमन्त्री नियुक्ति भएलगतै पुष्पकमल दाहाल प्रचण्डले दुई छिमेकी राष्ट्रलाई कूटनीतिक सन्तुलनमा राख्ने र सम्बन्ध सुधार गरेर अगाडि बढ्ने बताए पनि त्यसलाई व्यवहारमा उतार्न उनले कतिको पहल गर्लान्? भन्ने प्रश्न र चासो सर्वत्र देखिएको छ । प्रधानमन्त्री नियुक्ति भएलगतै चीनले सुरुमा बधाई दिए पनि दक्षिणी छिमेकी भारतले भने केही दिनपछि बधाई दियो ।

पछिल्ला वर्षमा नेपालमा पश्चिमा राष्ट्रहरू विशेषगरी अमेरिका र चीनबीचको रणनीतिक प्रतिस्पर्धा बढेर गएको छ । जसमा भारतको जर्बजस्ती उपस्थिति छ । प्रधानमन्त्री नियुक्त भएलगतै उनले ‘नेपालमुखी’ परराष्ट्र सम्बन्ध सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रधानमन्त्री प्रचण्डले भारतीय समाचार संस्था एबीपी न्युजलाई दिएको अन्तर्वार्तामा आफू नेपालमुखी बन्ने बताएका हुन् । तर, उनले भनेअनुसार कूटनीतिक सम्बन्ध स्थापना गर्न सक्छन् या सक्दैनन् त्यो भने अब आउने दिनेले देखाउने नै छ ।

त्यसो त प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा २०६५ मा नेपालबाट पहिलोपटक भारत भ्रमण गर्ने परम्परालाई तोड्दै चीन गएका थिए । त्यतिखेर उनी ओलम्पिक समापन समारोहमा सहभागी हुन चीन पुगे । प्रधानमन्त्रीको विदेश भ्रमण भारतबाट हुने परम्परा तोडेकोमा दक्षिणी छिमेकी असन्तुष्ट भएको बुझेपछि दाहालले ‘पहिलो राजनीतिक भ्रमण भारतबाट गर्ने’ भन्नुपरेको थियो । तैपनि, भारतसँग दाहालको सम्बन्ध राम्रो हुन सकेन । पछिल्लो समय दाहालले भारतसँग सम्बन्ध सुमधुर बनाउने प्रयास गरिरहेका छन् ।

नेपालको भारतसँग रहेका समस्या र चुनौती एकातिर छन् भने नेपाल नै माध्यम भएर अमेरिका र चीनको प्रतिस्पर्धा अर्कोतिर छ । दुई ठूला देशले अघि सारेका रणनीतिक योजना, एमसीसी र बीआरआईमा नेपाल पक्ष राष्ट्र भइसकेको छ । दुईवटा परियोजनाको कार्यान्वयन गर्न सरकारलाई चुनौती छ ।

प्रचण्डलाई लामो समयदेखि भारतसँग बिग्रिएको सम्बन्ध सुधार र चीनसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौती छ । दुई छिमेकी मुलुकमध्ये भारतसँग लामो समयदेखि सीमा, पारवहान, पानीको विवादलगायत दर्जनौं समस्या छन् । यी विवादलाई प्रचण्ड नेतृत्वको सरकारले कूटनीतिक वार्ताबाट कसरी हल गर्न सक्छन् भन्ने चासोको विषय बनेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्