Logo

तेब्बरले घट्यो खाने तेलको निर्यात



काठमाडौं, पुस १८ । चालू आर्थिक वर्षको पाँच महिनामा खाने तेल (भटमास, पाम र सूर्यमुखी)को निर्यात तेब्बरले घटेको छ । अघिल्लो वर्षको तुलनामा चालू आवको पाँच महिनामा यी वस्तुको निर्यात तेब्बरले घटेर १८ अर्ब ८४ करोड रुपियाँमा झरेको छ । गत वर्ष पाँच महिनाको अवधिमा ६० अर्ब २७ करोड रुपियाँ बराबरको निर्यात भएको थियो ।

चालू आवको पाँच महिनामा पाम तेलको निर्यात ६० प्रतिशत घटेर १० अर्ब ८७ करोड रुपियाँको निर्यात भएको छ । खानामा बाहेक भारतमा खासगरी शृङ्गार सामग्री र साबुन उत्पादनका लागि पनि पाम तेल निर्यात हुने गरेको छ । भटमास तेलको निर्यात ७७ प्रतिशतले घटेर छ अर्ब ९८ करोड र सूर्यमुखी तेल ९० प्रतिशतले घटेर २२ करोड ३१ लाख रुपियाँको निर्यात भएको भन्सार विभागको तथ्याङ्क छ ।

विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पाँच महिनामा मुलुकको समग्र निर्यात ३४ प्रतिशतले घटेर ६७ अर्ब ३० करोड रुपियाँको निर्यात भएको छ । समग्र निर्यातमा २६ प्रतिशत योगदान पाम, भटमास र सूर्यमुखी तेलको रहेको छ । गत वर्ष पाँच महिनामा मुलुकबाट एक खर्ब २९ अर्ब २० करोड रुपियाँ बराबरको समग्र वस्तुको निर्यात भएको थियो । त्यतिबेला पाम, भटमास र सूर्यमुखी तेलको कुल निर्यातमा ५८ प्रतिशत योगदान थियो ।

भारत सरकारले कच्चा पदार्थको आयातमा भन्सार महसुल शून्य बनाएसँगै पाम, सूर्यमुखी र भटमास तेलको निर्यातमा कमी आएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot