Logo

कांग्रेसमा विशेष महाधिवेशनको विकल्प छैनः गुरुराज घिमिरे



काठमाडौं, १८ पुस । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्व कौशल देखाउन अक्षम भएको बताएका छन् ।
‘हाम्रो तमाम असहमतिका बाबजुद पनि लोकतन्त्र, संविधान र शासन प्रणालीका निम्ति आफूलाई स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनको पक्षमा उभ्यायौं । प्रचण्डको पार्टीका लागि हँसिया हथौडामा भोट हालेर जितायौं । निर्वाचनपछि प्रचण्डलाई पहिलो प्रधानमन्त्री बनाउन सहमति भएको रहेछ । हामीले त्यो पनि थाहा पाएनौं । कांग्रेस ठूलो पार्टी भए पनि बहुमत नल्याएकाले प्रधामन्त्री आफैंलाई चाहिन्छ भन्नु अतिवादी चिन्तन थियो । हामीले गठबन्धनको दरकार छैन भन्दा केका निम्ति बनाउनुभयो र जबर्जस्ती बनाएर फेरि किन भत्काउनुभयो ? पार्टी सभापतिले नेतृत्व कौशल देखाउन पटक्कै सक्नुभएन,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै घिमिरेले भने ।
पार्टीको संस्थापन पक्षले यति ठूलो राजनीतिक दुर्घटनालाई पनि सामान्यीकरण गर्ने प्रयास गरेको आरोप पनि उनले लगाए । घिमिरेले भने, ‘कतिपय नेतृत्वले निर्वाचनमा अपेक्षित सफलता प्राप्त भएपछि जिम्मेदारी छाड्छ, असफलतापछि पनि जिम्मेवारी छोड्छ । तर पार्टीमा यति ठूलो राजनीतिक दुर्घटनालाई पनि सामान्यीकरण गर्ने प्रयास भइरहेको छ ।’
आम कार्यकर्ताको भावना अनुसार नेतृत्व परिवर्तनको प्रयत्न सार्थक तुल्याउने समय आएको पनि घिमिरेले औंल्याए । उनले भने, ‘सबैभन्दा पहिले हामी केन्द्रीय समिति बैठक कुर्छौं । केन्द्रीय समितिमा यो विषयलाई कसरी उठाइन्छ ? हामीबाट गल्ती-कमजोरी भयो, हाम्रै कारण गठबन्धन जोगाउन सकिएन भनेर आत्मसमीक्षा नभएको स्थितिमा विशेष महाधिवेशनको विकल्प छैन । यो पार्टीको विधानले गरेको व्यवस्था हो । खास निर्णयमा पुग्न विशेष महाधिवेशन माग गर्न सकिन्छ ।’
पार्टी सभापति देउवाको नेतृत्वमा कांग्रेसको भविष्य सुरक्षित नहुने पनि उनको टिप्पणी छ । घिमिरेले भने, ‘हामीले निर्वाचनमा दुई तिहाइको सरकार बन्छ, सुशासनको ग्यारेन्टी हुन्छ भनेर भोट मागेका हौं । तर गठबन्धनकै यो दुर्दशा भयो । अब शेरबहादुर देउवाले नेतृत्व गरेर कांग्रेसको भविष्य सुरक्षित हुन सक्दैन । देशभरिको माहोल बुझेर केन्द्रीय समितिमा यसको अगुवाइ पार्टीका पदाधिकारीहरुले गर्नुपर्छ । त्यसपछिको बाटो विशेष महाधिवेशन नै हो ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot