Logo

चिकित्सक संघको निर्वाचनमा स्वतन्त्र उम्मेदवार डा. सिलवालको कडा चुनौती



काठमाडौं, पुस १८ । नेपाल चिकित्सक संघको आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन हुँदैछ । नयाँ नेतृत्वको लागि उम्मेदवारी दिएको स्वतन्त्र समूहले पर्सी (बुधवार) काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।

स्वतन्त्र समूहले बुधबार राजधानीको माइतिघर मण्डलामा रहेको नेपालको राष्ट्रिय झन्डा मुनि पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । स्वतन्त्र समूहबाट संघको अध्यक्षका उम्मेदवार डा शिवजी विक्रम सिलवालले बुधबार विहान ११ बजे माइतिघर मण्डलामा पत्रकार सम्मेलन गरेर आफ्ना एजेन्डाहरु सार्वजनिक गर्ने तयारी रहेको बताए ।

यसअघिका नेतृत्वले संघमा रहदा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको र पदमा दोहोरिन मात्र चाहेको भन्दै नेतृत्व परिर्वतनको आवाज बनेर स्वतन्त्र उम्मेदवार अघि बढिसकेको उनले बताए ।

संघको नेतृत्व परिवर्तन गरि नयाँलाई अवसर दिनुपर्ने आवाज यसअघि पनि पटक–पटक उठिसकेकाले चिकित्सकहरुको हकहित र अधिकार स्थापित गरि महत्वपूर्ण भुमिका खेल्न स्वतन्त्र समूह सक्षम रहेकाले नै अगाडि आएको उनको भनाई छ । यसपटकको निर्वाचनमा चिकित्सकहरूको हकहितमा लाग्नेहरूलाई प्राथामिकता दिएर भोट दिनसमेत उनको अपिल छ ।

स्वतन्त्रलाई पुराना चिकित्सकदेखि सक्रिय युवा चिकित्सकको साथ रहेकोले निर्वाचनमा स्वतन्त्रको जित सुनिश्चित रहेको दाबी गर्दै उनले सहकर्मी चिकित्सकहरूलाई निजी हस्पिटलले श्रमशोषण गर्दा राज्यले तोकेको श्रमऐन अनुसार सेवा सुविधा दिन भूमिका नसक्नेलाई संघको नेतृत्व नदिने प्रष्ट पारे ।

स्वतन्त्र समूहबाट सहउपाध्यक्षका लागि मधेश प्रदेशबाट डा. अजय मिश्र, महासचिवमा डा. अमित भुसाल, सदस्यमा डा. चेतन बस्नेत र डा. मोहम्मद अनामुल हँकिको उम्मेदवारी रहेको छ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ र ७ गते उपत्यका बाहिर र माघ १९, २० र २१ गते उपत्यकाभित्र चुनाव हुने भएको छ। यसपटक संघको अध्यक्षका लागि तीन जनाको उम्मेदवारी परेको छ।

नेपाली कांग्रेसनिकट प्रजातन्त्रवादी समूहबाट डा अनिलविक्रम कार्की उठ्दा एमालेनिकट प्रगतिशील समूहबाट डा सन्तोष पौडेलको उम्मेदवारी दर्ता गरेका छन्।

नर्भिक अस्पतालमा वरिष्ठ मुटुरोग विशेषज्ञको रुपमा कार्यरत डा. शिवजी विक्रम सिलवालको स्वतन्त्र उम्मेदवारी दुवै समुहलाई चुनौती थपिएको छ । संघको केन्द्रीय कार्यकारिणी समितिमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, एक सह-सचिव, एक कोषाध्यक्ष, एक सह–कोषाध्यक्ष र ६ सदस्यसहित १९ जना रहने व्यवस्था छ। संघको निर्वाचनका लागि विभिन्न पदमा ४१ जनाले उम्मेदवारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस्