काठमाडौं,१८ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानले मुलुकको विकास र स्थिरताका लागि आफूहरु माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको बताएका छन् । हिजो (आइतबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै राजनीतिक स्थिरता नभइ सरकारले स्थिरता नपाउने, विकास सम्भव नहुने र सुसाशन कायम नहुने भएकाले आफूहरु सरकारमा सहभागी भएको बताएका हुन् ।
त्यसैगरी, आफूहरु सत्ताको लागि लालायित नभएको उनको जिकिर छ । जनताले दिएको मतको आधारमा सरकारलाई सहयोग गरि देशमा स्थिरता र शुसाशन ल्याउन सहयोग पुर्याउनु आफूहरुको कर्तव्य भएको पनि उनले बताए ।
‘सबैभन्दा ठूलो कुरा जनता हुन् । जनताले जुन म्यानडेट दिएका छन् त्यसका लागि हामीले विभिन्न रणनीति अख्तियार गर्न पर्नेहुन्छ । सरकार टिकाउन होइन, राजनैतिक स्थिरताको लागि हामीले सहकार्य गरेका हौं,’ उनले भने ।
नेपालको संविधानलाई स्वीकार गरेर निर्वाचन आयोगमा दल दर्ता भई प्रतिस्पर्धा गरेपछि देशको संविधान मान्नु पर्ने र अहिले गणतन्त्रवादीलाई राजसंस्था र हिन्दु राष्ट्र हटाउनु गलत थियो भन्ने अनुभूति गराउन पनि अहिलेको सरकारमा सहभागी भएको उनले बताए ।