Logo

शितलहरबाट जनता बचाउन तत्काल राहतको प्याकेज घोषणा गरियोस : पूर्वमन्त्री पासमान



काठमाडौं, १८ पुष । बहुजन शक्ति पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री विश्वेन्द्र पासमानले भ्रष्ट र आचरण राम्रो नभएकाहरुलाई सरकारमा नपठाउन सत्ता गठबन्धनका नेतृत्वलाई सुझाव दिएका छन् । उनले मुलुक राजनीतिक अस्थिरताको बन्दी बनिरहन नहुने भन्दै अब स्थायत्वि र आर्थिक समृद्धिको यात्रामा अघि बढ्नपनि सुशासन पहिलो शर्त हुनुपर्नेमा जोड दिए ।

रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा पूर्वमन्त्री पासमानले सत्ता गठबन्धनको प्रमुख घटक नेकपा (एमाले) ले मन्त्री पठाउँदा विचार पुर्याउनुपर्ने बताए । उनले भने,‘अहिलेको सत्ता राजनीतिको मुख्य शक्ति एमाले हो । उसले सरकारमा कस्ता व्यक्ति पठाउँछ भन्ने कुराले ठूलो अर्थ राख्छ । त्यसैले स्वच्छ छवि भएकाहरुलाई सरकारमा पठाउनुपर्छ ।’

पासमानले प्रधानमन्त्री पुष्पकमल दाहालको लागि पनि राजनीतिमा अब अन्तिम अवसर प्राप्त भएकोले सही तवरले देश चलाउनुपर्ने सुझाव दिए । उनले भने,‘सम्माननीय प्रधानमन्त्री प्रचण्ड काम गर्ने व्यक्ति हो । अब उहाँले आफ्नो बाँकी जीवन देश र जनताको हितमा खर्चिन भन्नुभएको छ। उहाँले काम बढि गर्ने र भाषण कम गर्ने सार्वजनिक अभिव्यक्ति दिनुभयो, यो खुशीको कुरा हो ।’ उनले जनजनको मन जित्नेगरि आफ्नो काममा खरो उत्रन सबै मन्त्रीहरुलाई आग्रह गरेका छन् ।

तराई/मधेशमा शितलहरको कारण जनजीवन कष्टकर बनेको समाचार आउन थालेको भन्दै सरकारले यसतर्फ ध्यान दिनुपर्ने र तत्काल राहतका प्याकेज घोषणा गरेर उनीहरुलाई चिसोबाट बचाउनुपर्ने पनि पासमानको माग छ ।

उनले सरकारले शितलहरबाट जनता बचाउनको लागि न्यानो कपडा वितरण र उनीहरुलाई साँझ, विहानको खानाको केही समयको लागि बन्दोबस्त मिलाउन सुझाए । पासमानले शितलहरको प्रत्यक्ष प्रभावमा परेका परिवारहरुलाइ राहतस्वरुप निःशुल्क दाउराको पनि व्यवस्था गर्नुपर्ने माग गरेका छन् ।

पासमानले सरकारले भारत, चीन र अमेरिकाजस्तो शक्ति राष्ट्रहरुलाई विश्वासमा लिएर काम गर्नुपर्ने र सन्तुलित विदेशी नीति अख्तियारी गर्नुपर्ने पनि धारणा राखे । विगतमा सरकार प्रधानमन्त्रीले बालुवाटारबाट चलाउने गरेको देखिएको भन्दै अब प्रचण्डले त्यो गल्ती गर्न नहुने बताए । file photo



प्रतिक्रिया दिनुहोस्