काठमाडौं, १८ पुष । अपार तामाकोशी जलविद्युत परियोजना पीडित संघर्ष समितिले परियोजनाको सबस्टेसन सुरुमा सर्भे गरिएकै स्थानमा राख्नुपर्ने माग गरेको छ। आयोजनाको निर्माण कार्य अघि बढाउने बेलामा सबस्टेशन काभ्रेको मण्डन देउपुरमा राख्ने भनेर गरिएको सर्भेभन्दा अन्यत्रै सवस्टेशन राख्न खोजिएकोमा समितिले आपत्ति जनाएको हो ।
समितिले सुरुमा सर्भे गरिएकै स्थान काभ्रेको मण्डन देउपुर–१ हलिदेमा नै सबस्टेशन राख्नुपर्ने अडान राखेको छ । पछि निर्माण कार्य अघि बढाउने बेलामा भने सवस्टेशन काठमाडौंको शंखरापुर–३ बोझेनीमा राख्न खोजिएको भन्दै संघर्ष समितिले विरोध जनाएको छ ।
संघर्ष समितिले आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत सर्भे गरिएकै स्थानमा सवस्टेशन नराखे आयोजनाको निर्माण कार्य नै अघि बढाउन नदिने चेतावनी दिएको हो ।
साथै, समितिका संयोजक तुलाराम तामाङले प्रहरीले स्थानीयहरुमाथि गरेको धरपकडको विरोध गरे । स्थानीयले अघि सारेका जायज माग पूरा गर्न सरकारले अविलम्ब कदम चाल्नुपर्ने उनको भनाई छ ।
त्यस्तै, समितिका सह–संयोजक फूर्वा तामाङले परियोजनाको सबस्टेसन राख्ने कार्यमा भूमाफियाहरुको चलखेल भएको बताए । शान्तिपूर्ण आन्दोलनमा रहेका स्थानीयलाई न्यूनतम मानव अधिकारको प्रत्याभूति पनि नहुने प्रहरी धरपकड भएकोमा पनि उनले आपत्ति जनाए ।
‘एसियाली विकास बैकको लगानीमा नेपाल विद्युत प्राधिकरणले अगाडि बढाइरहेको अपार तामाकोशी जलविद्युत परियोजनाको सबस्टेसन राख्ने, टावर प्याड राख्ने तथा तार विछ्याउने कार्यको हाम्रो विरोध रहेको जानकारी हुँदाहुँदै पुष १७ र १८ गते प्रहरी परिचालन गरेर जनतालाई लाठीचार्ज गर्न र धरपकटको हामी घोर विरोध गर्दछौै,’ विज्ञप्तिमा भनिएको छ ।
राज्यले बनाउने आयोजना जनताको लाभको लागि भएपनि यसले जनतामा निहित आत्मअधिकारसमेत हनन भएको उनीहरुको आरोप छ । साथै, पक्राउ परेका जयमान वाइवा, राजमान स्याङ्बो, लोहाङ लामाको तुरुन्त रिहाइको पनि माग गरिएको छ ।