मुस्ताङ, पुस १९ । यस वर्ष मनाङमा हिमपात नभए पनि अत्यधिक चिसो बढेको छ । चिसोले गर्दा यहाँको तिलिचो तालको पानी जमेको छ । तालतलैया, शाखा नदी, सिँचाइ कुलो, घरका धारा र सेफ्टी ट्यांकी क्रमशः जम्न थालेका छन् ।
चिसोले यहाँको दैनिकीमा प्रतिकूल असर परेको छ । हिउँदयाममा चिसोका कारण ङिस्याङ गाउँपालिका–९ तिलिचो ताल, गंगापूर्ण ताल, आइस लेक, पोङ्कर, ड्रोनालगायतका तालतलैया पूर्णरूपमा जमेका छन् ।
समुद्री सतहदेखि ४ हजार ९ सय १९ मिटर उचाइमा रहेको तिलिचो ताल चार दशमलव आठ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । सबैभन्दा अग्लो स्थानमा रहेको तिलिचोमा अहिले पानी जमेको छ । अहिले मस्र्याङ्दी नदीको पानी जमेको छ ।
यसै गरी चिसोका कारण शाखा नदी बरफ बनेका छन् । घरका धारा र सेफ्टी ट्यांकी पानी जम्दा जनजीवन कष्टकर बनेको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुंगेल खनालले बताए । उनले भने– ‘चिसो सिरेटोले बाहिर निस्कन मुस्किल भएको छ, स्थानीय आगो बालेर घरभित्र बस्ने गरेका छन् ।’
उनले खानेपानीका धारा जम्दा स्थानीयले कुलोको बरफ भएको पानी तताएर दैनिक प्रयोजनमा उपयोग गर्न थालेको बताए । चालु वर्षको पुसको आधा बितिसक्दासमेत हिउँ परेको छैन । यद्यपि, हिमपात नभए पनि माथिल्लो मनाङमा बिहान र बेलुकीको तापक्रम माइनस २० डिग्रीसम्म पुग्ने गरेको छ ।
त्यसै गरी मुस्ताङमा चिसो बढेपछि स्थानीयबासीको दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । केही दिन यता चिसो अत्यधिक मात्रामा बढेपछि धारा, खोला, तालतलैया जम्न थालेपछि जनजीवन कष्टकर भएको हो ।
हिउँद याममा चिसोका कारण मुस्ताङको घरपझोङ–५ कैसाङ क्याम्पस्थित क्षमा ताल पूरै बरफ बनेको प्रचण्ड डंगोलले जानकारी दिए । घरपझोङको पश्चिमतर्फ पर्ने नीलगिरि हिमालको फेदमै अवस्थित यो तालको माथि पूरै जमेको छ । समुद्री सतहदेखि करिब ३२ सय मिटरको उचाइमा ताल छ ।
अत्यधिक चिसोका कारण उत्तरी मुस्ताङमा जनजीवन झनै कष्टकर बनेको छ । नेपाल समाचारपत्र दैनिकबाट