Logo

दुई-चार सिटका दलले पनि मालदार मन्त्रालय र उपप्रधानमन्त्री माग्नु उदेकलाग्दोः एमाले सांसद



काठमाडौं, १९ पुस । नेकपा एमालेका नेता एवं सांसद पदम गिरीले पाँचसातवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भएकाले मन्त्रालय फुटाउनुपर्ने स्थिति आएको बताएका छन् ।
‘यसपटक जनमत नै त्यस्तै आयो । निर्वाचन प्रणालीका कारण कसैको बहुमत नआउने अवस्था रह्यो । पाँचसातवटा पार्टी मिलेर सरकार बनाउनुपर्ने परिस्थिति निर्माण भयो । सकेसम्म थोरै मन्त्री र थोरै मन्त्रालयले चलाउनुपर्ने स्थितिमा मन्त्रालय फुटाएर २५ वटा बनाउनुपर्ने भयो । दुई-चार सिटका दलले मालदार मन्त्रालय र उपप्रधानमन्त्री चाहियो भन्नु उदेकलाग्दो छ । पाँचजना उपप्रधानमन्त्री भएर देशमा के हुन्छ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै गिरीले भने ।
दलहरुको व्यवहारका कारण व्यवस्थाप्रति नै निराशा र वितृष्णा बढेर जाने खतरा रहेको पनि उनले औंल्याए । गिरीले भने, ‘यो कुनै पनि मानेनमा उत्साहप्रद र सुखद होइन । यसले खर्च मात्र बढाउँछ । मुलुकमा आर्थिक संकट छ । ऋण लिएर कर्मचारीलाई तलब खुवाउनुपर्ने परिस्थिति छ । संविधानले दलहरुलाई सहकार्यका निम्ति निर्देश गरे पनि त्यो बुझ्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन नसकेको पनि उनले बताए । गिरीले थपे, मन्त्रीहरुले जिम्मेवारी पाएका छैनन् । बधाई दिन आउनेको फूलमाला कहाँ बसेर थाप्ने ? बडा अप्ठ्यारो स्थिति छ ।’
रेशम चौधरीको रिहाइमा आफ्नो पार्टी सकारात्मक भए पनि प्रक्रियाद्वारा छोड्नुपर्ने उनको धारणा छ । तपाईं पनि मन्त्री हुनुहोला नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘जनताले दोस्रो चोटि चुनेर पठाएका छन् । पार्टीले अवश्य मूल्यांकन गर्ला ।’



प्रतिक्रिया दिनुहोस्