Logo

प्रचण्ड सरकारलाई विश्वासको मत दिनुपर्छः एकीकृत समाजवादी नेता



काठमाडौं, १९ पुस । नेकपा (एकीकृत समाजवादी) का नेता सोमप्रसाद पाण्डेले वर्तमान सरकारलाई विश्वासको मत दिनुपर्ने औंल्याएका छन् ।
‘हामी सरकारमा जाने वा नजाने, विश्वासको मत दिने वा नदिने छलफलमै छौं । हामी जनताको चाहना र विकसित परिस्थिति हेरेर टुंगोमा पुग्छौं । तर व्यक्तिगत रुपमा म अहिलेको सरकारलाई समर्थन गर्नुपर्छ र विश्वासको मत दिनुपर्छ भन्ने पक्षमा छु,’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै पाण्डेले भने ।
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र आफ्नो पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटघाट भए पनि सबै कुरा मिल्ने परिस्थितिको निर्माण नभएको पनि उनले बताए । पाण्डेले भने, ‘दुई अध्यक्षबीच भेटघाट भएको हो । तर सरकारमा जाने वा मन्त्रालयको कुरा भएको छैन ।’
एमाले अध्यक्ष केपी शर्मा ओली र आफ्नो पार्टी अध्यक्ष नेपालबीच संवाद आवश्यक रहेको पनि उनले बताए । पाण्डेले थपे, ‘अहिले सबैको ध्यान एकीकृत समाजवादीमा छ । यो प्रत्यक्षतर्फ चौथो स्थान पाएको पार्टी पनि हो । अब व्यक्तिले होइन, बाजी देशले मानुपर्छ । हिजोको रिसइबी साँधेर र मेरै गोरुको बाह्रै टक्का भन्दा हामी फेल हुनेवाला छौं । अब ओली र माधव नेपालबीच संवादको वातावरण बन्नुपर्छ ।’
फरक प्रसंगमा उनले नेपाल बीआरआईमा गइनसकेको र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बीआरआई अन्तर्गत नभएको समेत जिकिर गरे ।

 



प्रतिक्रिया दिनुहोस्