Logo

‘महामन्त्रीमा हारेपछि मैले गगन थापालाई गाली गरेर कुण्ठा पोख्नु उचित हुँदैन, ऐनामा पहिले आफ्नै अनुहार हेर्नुपर्‍यो नि’



काठमाडौं, १९ पुस । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले सत्तालाई नै अन्तिम सत्य मानेकाले पाँचदलीय गठबन्धन टुटेको बताएका छन् ।
‘म नेपाली कांग्रेसका आठ लाख सदस्यमध्ये एक हुँ । म बाहिर बसेर तमासा हेरिरहेको छु । म गठबन्धनको कुनै पनि निर्णय प्रक्रियामा थिइनँ । त्यसैले सिट बाँडफाँट, निर्वाचन व्यवस्थापन र निर्वाचन परिणाममा संलग्न हुनेहरुले नै गठबन्धन किन टुट्यो भन्ने जवाफ दिनुपर्छ,’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै डा. रिजालले भने ।
चुनावमा ठूलो पार्टी भएर पनि विपक्षमा धकेलिनुको दोष नेतृत्वपंक्तिले लिनुपर्ने पनि उनले औंल्याए । डा. रिजालले भने, ‘नेपाली कांग्रेसको लोकप्रिय मत २०७४ भन्दा ७ प्रतिशतले घटेको छ । नेकपा (एकीकृत समाजवादी) को जोड्दा एमालेको ३ प्रतिशत घट्यो । तर हामी मताधार भएको पार्टी रहेनौं । कांग्रेस ठूलो भएको २५ वटा सिट अरुलाई दिएपछि हाम्रो हालत यस्तो भयो ।’
उनले प्रतिनिधिसभामा टिकट नदिएको कुरामा अब फर्कन नचाहेको पनि बताए । डा. रिजालले भने, ‘भदौ २३ देखि नै टिकट दिँदैनन् भन्ने मलाई पक्का भएको थियो । अहिले पुस लागिसक्यो । अब म पछाडि फर्कन सक्दिनँ । मलाई कसले टिकट नदिएको हो, घामजस्तै छर्लंग छ । मैले अर्कालाई किन गाली गर्ने ? जसले टिकट दिनुभएन, उहाँलाई नै सोध्नुस् ।’
पार्टीको महामन्त्री हारेपछि रक्षामन्त्रीबाट राजीनामा नदिएको भए अहिले पनि आफूलाई ग्लानि हुने पनि उनले बताए । तपाईंलाई त गगन थापाले विश्वप्रकाश शर्मासँग मिलेर हराएको होइन भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, ‘म मनमा धैर्य भएको मानिस हुँ । म महामन्त्री गगन थापाको समूहसँग लामो समय सम्बन्ध राखेको मानिस होइन । तर गगन थापासँग मेरो राम्रै सम्बन्ध छ । अब चिहान खन्नु जाती हुन्न । गगन थापाले तीन हजार भोट ल्याउँदा मैले एक हजार भोट पनि ल्याइनँ । अब मैले रोएर भएन नि । गगनलाई गाली गरेर कुण्ठा पोख्नु उचित भएन । पहिले ऐनामा आफ्नो अनुहार हेर्नुपर्‍यो नि ।
उनले आफ्नो ध्यान पार्टीको पन्ध्रौं महाधिवेशनतिर रहेको पनि बताए । उनले भने, ‘मैले कांग्रेस र राजनीति छाडेको छैन । पन्ध्रौं महाधिवेशनमा के गर्ने भनेर साथीभाइहरुसँग सरसल्लाह गर्दैछु ।’



प्रतिक्रिया दिनुहोस्