Logo

जसपा तत्काल सरकारमा नजाने



काठमाडौं, पुस २०। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा)ले तत्काल सरकारमा सहभागी नहुने निष्कर्षमा पुगेको छ । दुई दिनदेखि काठमाडौंमा बसेको जसपाले राजनीतिक समिति बैठक मंगलबार समापन गर्दै यस्तो निर्णय गरेको हो ।

बैठकले सरकारको नीति तथा कार्यक्रम एवं शक्ति बाँडफाँटका आधारमा मात्रै सरकारमा सहभागी हुने अन्यथा ‘सरकारलाई बाहिरैबाट समर्थन गर्ने’ निर्णय गरेको छ । जसपा प्रवक्ता मनिष सुमनका अनुसार सम्मानजनक शक्ति बाँडफाँटका आधारमा मात्रै पार्टी सरकारमा सहभागी हुने अन्यथा बाहिरैबाट सरकारलाई समर्थन दिने बताए ।

बैठकले पार्टी विधान अधिवेशनका लागि ‘विधान मस्यौदा समिति’ पनि गठन गरेको छ । समितिमा पार्टी अध्यक्ष उपेन्द्र यादवसहित राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, सुशीला श्रेष्ठ, शिवलाल थापामगर, लालबाबु राउत, दीपेन्द्र झा, दीपक राई, पञ्चलाल महर्जन, वीरेन्द्र ठाकुर र भगवती सुवेदी छन् ।

जसपाले विभिन्न दल तथा संगठनसँग एकता, सहकार्य तथा गठबन्धन गर्न पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्