काठमाडौं, २० पुस । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण थालनी बेल्ट रोड एन्ड एनिसिएटिभ (बीआरआई) सम्झौताभन्दा पहिले भएको बताएका छन् ।
‘मैले सरकारी कागजात हेरेको छैन । तर बीआरआईको कन्सेप्ट सन् २०१३ सेप्टेम्बरमा आएको हो । सन् २०१७ मा आएर नेपाल सरकारले अनुमोदन गरेको हो । जब कि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको बोलपत्र सन् २०१२ मै भएको हो । नेपाल सरकार र नागरिक उड्डयन प्राधिकरणले चीन सरकारको एक्जिम बैंकसँग सम्झौता गरेको हो । अनि कसरी बीआरआई अन्तर्गतको हुन्छ र ?’ प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रमका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै अधिकारीले भने ।
तपाईंहरुले धमाधम अन्तर्राष्ट्रिय विमानस्थलहरू बनाउँदै हुनुहुन्छ, त्यसको उपयोगिता के छ भन्ने पत्रकार धमलाको प्रश्नमा महानिर्देशक अधिकारीले भने,’बुद्धपूर्णिमाको दिन लुम्बिनी र जनवरी १ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विधिवत् समुद्घाटन भइसकेको छ । राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न नहुने समस्यामा क्रमभंगता आउनु सुखद हो । यसले हवाई उड्डयन क्षेत्रमा ठूलो योगदान हुनेछ । यो नेपालको विकासमा माइल स्टोन हुनेछ । जहाँसम्म उपयोगिताको कुरा हो, पूर्वाधार भनेको आजका निम्तिमा मात्र बनाइँदैन, यो त भोलिका सन्ततिका लागि पनि हो । त्यसैले आजको आजै नाफा भयो कि भएन भनेर मात्र हेरिँदैन । हामीले ऋण तिर्न सक्छौं कि सक्दैनौं, जहाज सञ्चालन गर्न सक्छौं कि सक्दैनौं भन्ने प्रश्नचाहिँ महत्त्वपूर्ण छ ।’
नेपाल नागरिक उड्डयन प्राधिकरण अन्य सरकारी संस्थानभन्दा फरक रहेको पनि अधिकारीले औंल्याए । उनले थपे, ‘प्राधिकरणले नेपाल खाद्य संस्थानले जस्तो खाद्यान्न वा नेपाल आयल निगमजस्तो तेल वितरण गर्ने संस्था होइन, यसका राष्ट्रिय र अन्तर्राष्ट्रिय दायित्व छन् । त्यसमा हामी सचेत छौं ।’